काठमाडौँ — झण्डै चार सताब्दी वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष पनि १० दिनसम्म चल्ने भएको छ । मंसिर २ गतेदेखि सुरु भएको कात्तिक नाचमा शनिबार राति नृसिंह अवतार (हिरण्यकश्यपु बध) देखाइएको थियो । अभिलेखअनुसार विसं. १६९७ देखि सुरु भएको ऐतिहासिक कात्तिक नाच भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथासँग जोडिएको छ ।
पाटन दरबार क्षेत्रमा हुने यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ कात्तिक नाच चलाएको जनविश्वास छ । तर केहिले भने तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक सुरु गरेको इतिहास रहेको पनि बताउँछ । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको छ । कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो ।
यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । स्थानीय किरण चित्रकारले कात्तिक नाच आजभन्दा ३ सय ८३ वर्ष अघि वि.सं. १६९७ मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा शुरु भएको बताए । शुरुवाती दिनमा ५ दिनदेखि शुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गरेको बताइन्छ । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्नेगरी थालनी गरिएको चित्रकारको भनाइ छ । एक महिनाभर मनाउने गरिएपनि विभिन्न समयमा विभिन्न कारणले गर्दा मनाउन नसकिएको चित्रकारले जानकारी दिए ।
कार्तिक नाच शुरुमा ‘बाथः प्याखँ’ बाट शुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ । तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच शुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ । परापूर्वकालमा कात्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ ।
यस वर्ष मंसिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला (शितज्वर÷विषमज्वर युद्ध, महादेव÷कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाइनेछ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको छ । यो नाचलाई संस्कृति संरक्षणका साथै सांस्कृतिक पर्यटनको रुपमासमेत प्रचारप्रसार गरिए थप जीवन्त बन्दै जाने संस्कृतिविदहरुको सुझाव छ ।


प्रतिक्रिया