काठमाडौँ — यमपञ्चक अर्थात तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका गरी मनाइएको छ । दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार सप्तरङ्गी टीका लगाउने परम्परा छ । यसरी टीका लगाइँदिदा दाजुभाई दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वल बनाईराख्ने विश्वास छ ।
निधारमा लर्काएर सप्तरंगी टीको
हिंडिरहनु सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिए बाधाहरु मैले
जतापनि पुग दाजै घामभन्दा पहिले
नेपालीहरुको मन मुटुमा कालजयी बनेर बसेको यो गीतले तिहार, त्यसमाथि पनि भाईटीकाको विशेष महत्व दर्साउँछ । गीतका शब्दले भनेझैं धार्मिक रुपमा समेत बिशेष अर्थ राख्ने सप्तरंगी टीका दाजुभाईको निधारमा लगाईदिएर हार्षेल्लासका साथ मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइका लागि गरेको कामनाले सबै बाधाहरु पन्छिएर जाने धार्मिक र सांस्कृतिक मान्यता छ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरुको दोश्रो ठूलो चाड तिहार भाइटीकासँगै बिदा भएको छ । उत्तम साइतअनुसार आज बिहान १० बजेर ५१ मिनेटदेखि दिनभर नै टीका लगाईदिने र थाप्नेहरुको चहलपहल देखिन्थ्यो ।
आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर मनाए । दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ । भाइटीका ग्रहण गरेका सर्वसाधारणहरुको अनुहारमा खुशी देखिन्थ्यो ।
विदेशमा भएकाहरु दशैं तिहारमा घर फर्किने तथा जागिरको शिलशिलामा घरभन्दा टाढा रहेकाहरु समेत गाउँ फर्किने भएकाले गाउँमा छुट्टै रौनक हुन्छ । संखुवासभा घर भएर हाल काठमाडौं बस्दै आएका विशाल राई र फुबा शेर्पालाई यस्तै अनुभूति भएको छ । शहरभन्दा गाउँको तिहार निकै फरक भएको उनीहरु सुनाउँछन् ।
सम्पूर्ण नेपालीहरुको घरदैलोमा तिहार आउँदा जाजरकोट र रुकुमपश्चिमका सर्वसाधारणका लागि यसपालि तिहार खल्लो भयो । एकातिर त्रिपालमै रात बिताउनुपर्ने बाध्यात्मक अवस्था छ । अर्कोतर्फ तिहारमा भूकम्पले लगेका आफन्तहरु सम्झना बनेर बसिरहे । भूकम्पमा ज्यान जोगिएकाहरुका लागि यसपालिको तिहार उल्लासमय बन्न सकेन । यद्यपि ज्यान जोगिनु नै ठूलो कुरा भएकाले अर्को बर्ष तिहार मनाउने आशमा उनीहरु खुशी खोजिरहेका छन् । यस्तै, यसपालिका शीर्ष नेताहरुमध्ये केहीले भाइटीका ग्रहण गरे भने केहीको टीका थिएन ।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा भाइटीका ग्रहण गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि साइतमै बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका ग्रहण गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसपटकको तिहार सुनसान बन्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक तिहारका कुनैपनि औपचारिक कार्यक्रम भएनन् ।
यसैगरी, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यो वर्ष टीका लगाएनन् । उनकी ठूलीआमाको निधन भएका कारण ओलीले टीका लगाएनन् । उनले यसबर्षको दसैँ पनि मानेका थिएनन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहिनी सुशीला खड्काबाट टीका र माला लगाएका छन् ।
यमपञ्चकको पाँच दिनमध्ये भाईटीकाको महत्व छुट्टै छ । यसले चेली र माईतीको सम्बन्ध बलियो बनाउन मद्दत गर्छ । बर्षभर माइती जान नपाएकी चेलीसँगै तिहारकै अवसरमा जमघटको सुनौलो अवसर मिल्छ । तिहारको टीकाले आपसी मनमुटाव र मतभेदको पनि अन्त्य गर्ने भएकाले चेली माइतीबीचको सम्बन्ध थप प्रगाढ बनाउने गर्छ । यस वर्षको तिहार भाइटीकासँगै बिदा भएको छ । आगामी वर्ष पनि तिहार यस्तै उल्लासमय बनोस् । चाडबाडको मुखमा जाजरकोट र रुकुमपश्चिमको जस्तो विपत्ति भोग्न नपरोस् । यही कामना गर्दछौँ ।


प्रतिक्रिया