काठमाडौँ — हमासले इजराइलमा आक्रमण गरेको दिनदेखि बेपत्ता रहेका कञ्चनपुरका २३ वर्षिय विपिन जोशी हमासको कब्जामा रहेको इजरायली सरकारले पुष्टि गरेको छ । २६ दिनसम्म विपिनका अवस्थाबारे बेखबर भईरहेको अवस्थामा इजरालयली सरकारबाट हमासको कब्जामा रहेको प्रतिक्रिया सार्वजनिक भएको हो । तर, विपिनलाई नेपाल फर्काउन सरकारले कस्तो कूटनीतिक कमद चाल्ला ? भन्ने चासो बढेको छ ।
आफ्नो ज्यानको बाजी राखेर १७ जना नेपाली सहपाठीको ज्यान जोगाएका ‘रियल हिरो’ विपिन जोशीबारे द्धन्द सुरुभएको २७ औँ दिनमा सुखद् खबर आएको छ । इजरायली सरकारबाट आएको शुभ समाचारले छोरा आउने आशै आशकाबिच दशैं मनाएका विपिनका विछिप्त परिवारले केही राहतको सास फेर्न पाएका छन् । २६ दिनसम्म बेपत्ता रहेका विपिन हमासको नियन्त्रणमा भएको खबरले परिवारसहित सारा देशवासीमा उनी फर्कनेमा आश जागेको छ ।
ज्यान हत्केलामा राखेर हमासले प्रहार गरेको ग्रिनेडलाई टिपेर उतै फालिदिएका विपिनलाई उद्धार गर्ने जिम्मा सरकारको काँधमा छ । २ सय ५४ विद्यार्थीलाई इजरायलबाट उद्धार गरेको सरकारले अब हमाससँग कूटनीतिक कदम चाल्दै एक साहासिक नागरिकको सास बचाउनुपर्ने आवाज संसद्मा उठेको छ ।
विपिनको रिहाई नेपालको मात्रै होइन, अन्तरर्राष्ट्रिय चासो समेत बनेको छ । गत आईतबार नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले समेत विपिनको अवस्थाबारे चासो राखेका थिए । गुटरेसले विपिनको अवस्था सार्वजनिक गर्न द्वन्द्वरत पक्षसँग आग्रहसमेत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटरेसले बेपत्ता जोशी सुरक्षित फर्कने भन्दै कामना गरेका थिए ।
जोशीलाई मुक्त गराउन सरकारले नेपालसँग बलियो श्रम कूटनीति रहेको कतारको सहयोग लिनुपर्ने देखिन्छ । कतारसँग हमासको नजिकको सम्बन्ध रहेको र बीबीसी जस्ता सञ्चार माध्यमले पनि बन्धकहरूको भाग्य केही हदसम्म भए पनि कतारको हातमा नै रहेको उल्लेख गरेको अवस्थामा नेपालले त्यसको फाइदा उठाउनु सक्नु पर्छ । कतार सरकारमार्फत हमाससँग गम्भीर भएर कुरा गरि उद्धार गर्न सकिने सम्भावना रहेको सासंसदहरुले पनि बताई नै रहेका छन् ।
यसअघि पनि बन्धक रहेका दुई अमेरिकी, दुई वृद्ध इजरायलीसहित एक सेनालाई मुक्त गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकले कतारलाई धन्यवाद दिएका थिए । जोशीसहित एक सय २२ विदेशी नागरिक बन्धक बनाएको हमाससँग थाइल्याण्ड सरकारले समेत प्रत्यक्ष संवाद गरेको छ । गत बिहीबार इरानको तेहरानमा थाई अधिकारी र हमासका अधिकारीबीचको वार्तामा थाई नागरिकलाई ‘उचित समय’मा रिहा गर्ने वचन दिइसकेको छ ।
आफ्ना नागरिकको उद्धार गर्न हमाससँग भेटेर सुरक्षित राख्ने आश्वासन पाएको थाईको जस्तै नेपालले पनि सिको गर्नुपर्छ । निरीह भएर अर्काकै मात्रै भरमा बस्नु भन्दा नेपालले पनि यस्तो गम्भीर विषयमा पत्राचार मात्रै गर्नु भन्दा परराष्ट्रमन्त्री आफै उपस्थित भएर आफ्नो नागरिकको उद्दार गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया