Breaking

गाजा पस्यो इजरायली सेना, युद्ध दोश्रो चरणमा पुगेको नेतान्याहुको जवाफ, कहाँ हरायो हमास ?


काठमाडौँ– इतिहास साक्षी छ जब–जब इजरायलमाथि हमला हुन्छ तब उसले त्यसको सशक्त जवाफ दिन्छ । अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण सुरु गरेपछि केही दिन शोकमा डुबेको इजरायलले आफ्नो कमजोरीलाई शक्तिमा बदल्दै हमासमाथी आक्रमण सुरु गरेको ३ हप्ता बितिसक्दा पनि युद्ध रोकिने कुनै संकेत देखिदैन । संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हिजो शनिवार मात्रै पारित गर्यो । युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । तर बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ । बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनी समेत दिएकाछन् । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उनले हमासको अत्याचार सहेर नबस्ने बताएका छन् ।

विश्वभरि विभिन्न स्थानमा गाजामा तत्काल युद्ध विराम गर्न माग गर्दै प्रदर्शनहरू भइरहेका बेला इजरायलका प्रधानमन्त्री न्याहुले जारी युद्ध दोस्रो चरणका प्रवेश गरेको बताएका छन् । नेतान्याहुले अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा बोल्दै इजरायली कमाण्डरहरू गाजा पट्टीमा पूर्णरुपले तैनाथ नै गरिएको पुष्टि गरेका छन् । इजरायली सेनाले गाजा शहरमा पर्चाहरू खसाल्दै यो क्षेत्र अब युद्धको रणभूमि भएकोले सर्वसाधारण नागरिकलाई दक्षिणतिर जान उर्दी जारी गरेको छ । हमासले बन्धक बनाएकालाई छुटाउने प्रयास जटिल बन्दै गर्दा नेतान्याहुले भने हमासद्वारा बन्धक बनाएका इजरायलीका परिवारलाई भेटेर बन्धकहरूलाई फिर्ता गर्नु नै इजरायली सेनाको प्राथमिक लक्ष्य रहेको बताएका छन् ।

शुक्रवार राति इजरायलले पछिल्लो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो घातक हवाई हमला गरेको थियो । इजरायलले आफूमाथिको आक्रमणको जवाफ मात्र दिएको छैन उसले आफूलाई मजबुत पनि बनाउँदै लगेको छ । चाहे १९६७ को ६ दिने युद्ध होस् वा सन् १९७३ को अरब–इजरायल युद्धमा नै किन नहोस्, हरेक युद्धमा इजरायलले भौगोलिक रुपमा आफ्नो आकार बढाउदै लग्दा युद्धका कारण प्यालेस्टाइनको भूभाग खुम्चिँदै गएको छ । यसै पनि युक्रेन–रूस युद्धका कारण खलबलिएको विश्व शान्ति र अर्थव्यवस्था इजरायल–प्यालेस्टाइनबीचको तनावले झनै संकटमा पुगेको छ । ३ हप्ताको अबधीमा कयौ निर्दोष सर्वसाधारणले ज्यान गुमाईरहेका छन् ।