काठमाडौँ — गैरआवासीय नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशन काठमाडौको एक पाँच तारे होटलमा चलिरहेको छ । विदेशी भूमिमा बसे पनि नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि सिंगो राज्य संयन्त्रलाई नै आफू अनुकुल राख्न सक्ने सामथ्र्य बोक्दै आएका एनआरएनएका प्रतिनिधि यत्तिबेला भने नेतृ रामकुमारी झाँक्रीले झाँको झारेपछि झस्किएका छन्, उनीहरु नेतृ झाँक्रीविरुद्ध आगो ओकल्न सुरु गरेका छन् ।
काठमाडौको एक पाँचतारे होटलमा बडो तामझामका साथ जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशन यत्तिबेला नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीका कारण थप चर्चामा छन् । राष्ट्रपति प्रधानमन्त्रीदेखि शीर्षस्थ नेताहरुको उपस्थितिमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्दै छ । बुधवार अतिथि बनेर कार्यक्रममा पुगेका पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले मञ्चबाटै एनआरएनएहरुको झाँको मात्र झारेन्न उनीहरुको आलोचनाको खण्डन गर्दै मञ्चबाट नै गैरआवासीय नेपालीहरुमाथि खनिईन् ।
गैरआवासीय नेपालीहरुको नागरिकता अधिकारसँगै राजनीतिक अधिकार समेत प्राप्त गर्नुपर्ने र त्यसो हुन नसके कागजी खोष्टो मात्रै हुने भनेर महाधिवेशनमा सहभागी केही गैरआवासीय नेपालीले आलोचना गरेपछि नेतृ झाँक्री झोक्किएकी थिइन् । झाँक्रीले प्रतिनिधिहरुलाई ‘रेस्टुरेन्टमा काम गरेर फुर्सद नभएको’ र ‘सिपाही मानसिकता देखाएको’ जस्ता भाषा नै प्रयोग गरेर झोक्किएपछि महाधिवेशनस्थलमा केही समय विवाद भएको थियो ।
झाँक्रीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता एनआरएनहरूले पाउने तर राजनीतिक मतदानको अधिकार दिन नसकिने बताएपछि केही प्रतिनिधिहरुले उठेर विरोध जनाएका थिए । झाँक्रीको अभिव्यक्तिपछि गैरआवासीय नेपालीहरु रुष्ट मात्रै भएनन्, उनीविरुद्ध आगो नै ओकले ।
गैरआवासीय नेपालीको नाममा बर्षौदेखि वेथितिको रुपमा मौलाएको धेरै एजेन्डाको उठान, देश र समाजले एनआरएनहरुसँग सोध्न चाहेका प्रश्नहरु तेर्साएकै कारण केहिले भाषा शैलीमा प्रश्न उठाए पनि सामाजिक सञ्जालमा अधिकांशले झाँक्रीको वाहवाही गरिरहेका छन । राज्य संयन्त्रलाई दबाब र प्रभावमा पारेर ऐन, कानुन नै संसोधन गरि नागरिकता अधिकार हत्याएका गैरआवासीय नेपालीहरुले दवाव र आलोचना गरेरै राजनीतिक अधिकारको खोजी गरिनु आफैमा सामान्य विषय होइन ।


प्रतिक्रिया