समाचार

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट

योहो संवाददाता

काठमाडौँ– पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठकहरु तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ । ७ गतेदेखि आजसम्म पाठकहरु उल्लेख्य उपस्थित भएको र अझै २२ गतेसम्ममा धेरै पाठकहरुले प्रदर्शनीमा उपस्थिति जनाउने अपेक्षा आफूहरुको रहेको साझा प्रकाशनका निमित्त महाप्रवन्धक भेषराज घिमिरेले बताउनु भयो ।

उहाँले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रुपमा रहेको र बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनीलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र ५ सय बढी विधाका पुस्तकहरु प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताउनु भयो । उहाँले देशभर गरेर ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान रहेको पनि बताउनु भयो ।

त्यस्तै प्रदर्शनीमा आउनुभएका शरद प्रधानले कतिपय पुस्तकहरु पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएको कारण विद्यार्थीहरुमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । साझा प्राशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तकहरु जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकहरुमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरु बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरुको भएको बताउनु भयो ।