Breaking

पसिना पुछ्दै पाखा पखेरा पसे रवि, गरीबले सुनाए गुनासो, स्वर्णिमलाई सेनाकै पिरलो, कस्तो आउला निती ?


काठमाडौँ — नीति बनाउन जनतासँग सुझाव लिने भन्दै रास्वपाका केन्द्रीय सदस्य र सांसदहरु गाउँगाउँ पुगेका छन् । पार्टी स्थापनाको एक वर्ष बितिसक्दा पनि अझै विचार शुन्यताको ट्याग लाग्ने रास्वपा त्यसैलाई चिर्न दस्तावेज निर्माण प्रक्रियाका लागि जन आवाज सुन्ने कार्यक्रम लिएर गाउँघर पसेका हुन् । वैकल्पिक शक्ति बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको १५ महिना बितिसक्दा पनि विचार र सिद्धान्तहीनछ । रास्वपाले अहिलेसम्म आफ्नो नीतिको निक्र्यौल गर्न नसक्दा अन्य पुराना दलहरुको विभिन्न आक्षेप र शब्दवाणबाट हमलाको शिकार हुनु पर्ने बाध्यता छ ।

१५ दिन सदनको कामकारवाही बन्द हुने अवस्थाको मौका छोप्दै त्यस्ता आक्षेपलाई चिर्ने हेतुले दस्तावेज निर्माणका लागि पार्टी गाउँ–गाउँ पसेको छ । पार्टीको दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्ने कार्यक्रम भन्दै असोज ३ देखि ७ गतेसम्म रास्वपाका १९ केन्द्रीय सदस्य र सांसदहरु १९ जिल्लामा खटिएका छन् । न नीति न थिति भन्ने आरोप खेपिरहेका पार्टी सभापति रवि लामिछाने रोल्पा पुग्दा स्थानीयहरु दंग बनेका छन् । उनी पनि जनताको गुनासो यसरी सुनिरहेका छन् ।

१० वर्षे सशस्त्र द्वन्द्व र माओवादी आन्दोलनको केन्द्रको रूपमा परिचित रोल्पाले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ । सभापति लामिछाने यतिखेर त्यहाँका जनताले अहिलेको राजनीतिलाई कसरी हेरिरहेका छन् र के चाहन्छन् भन्दै घरघरमा गएर सुझाव संकलन गरिरहेका छन् ।

परिवर्तनको नेतृत्व गरेकाहरुको नियतमा नै खोट हुँदा लामो कालखण्डसम्म पनि राज्यले इमान्दार नेतृत्व पाउन सकेको छैन । संविधानलाई पालना गर्दै विधिको शासन कायम गर्ने हो भने व्यालेटको माध्यमबाट इमान्दर नेतृत्व ल्याउने र परिवर्तन हुने लामिछानेको तर्क छ । क्रान्ति भनेको रातो र तातो मात्रै हुन्छ भनेर भ्रम छरेकाहरुलाई क्रान्ति नीलो पनि हुने देखाउन उनी खोजिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलेको निर्वाचन क्षेत्रबाट उपनिर्वाचनको माध्यमबाट सदन प्रवेश गरेका स्वर्णिम वाग्लेले तनहुँका घर घरमा जाने जिम्मा पाएका छन् । सेना घटाउने अभिव्यक्ति पछि विवादमा परेका उनी तनहुँसँगै लम्जुङबासीसँग पनि भेटघाट गरिरहेका छन् । ७ सय ५३ स्थानीय तहमा नै पुगेर उनी ०८४ का लागि भोट रिझाईरहेका छन् । सेनाको विषयमा सबैभन्दा धेरै जवाफ दिनु परेका उनले पार्टीलाई आगामी ५/१० वर्षमा सम्मानजनक स्थितिमा पुगाउनका लागि अभियानमा जोडिन आग्रह गरिरहेका छन् ।

असार ७ गते पार्टी स्थापनाकै अवसरमा पार्टीले ‘नयाँ युगको संकल्प’ भन्दै ६८ पृष्ठको राजनीतिक सैद्धान्तिक दस्तावेज सार्वजनिक गर्ने तयारी गरेपनि प्रदेशलगायत शासकीय संरचना जस्ता महत्वपूर्ण मुद्धामा पार्टीका नेताहरुले असन्तुष्ट जनाए पछि नजिक आईसकेको रास्वपाको राजनैतिक विचार टुंगिएको थियो ।

त्यसैलाई मुर्तरुप दिन रास्वपा अहिले गाउँगाउँ पसेको छ । रास्वपाका नेताहरु यसै कार्यक्रम अन्तर्गत तीन चरणमा गाउँ गाउँमा जाने छन् । पार्टीले सांसद र केन्द्रीय सदस्यले ल्याएका सुझावलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समावेश गर्ने उद्देश्य राखेको छ ।