काठमाडौँ — काठमाडौँ उपत्यकाको फराकिलो सडकमा खचाखच यातायात र मानिसको भीडभाडले यात्रा असहज हुने गरेको छ । सहज र सुरक्षित यात्राको परिकल्पनामा सडक विस्तार गरिए पनि यात्राका क्रममा कैयौं अप्ठेरा सामना गर्नुपर्छ । सडक दुर्घटनाकै कारण ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । पहाडी कच्ची सडकमा मात्रै होइन, संघीय राजधानी काठमाडौंमा समेत सडक दुर्घटनाका समाचार प्रायः दैनिक आइरहन्छन ।
सडक दुर्घटना न्यूनिकरणका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट प्रयास पनि हुँदै आएको छ । ट्राफिक प्रहरीले विशेष अभियान नै संचालन गर्दै आएको छ । काठमाडौँको सडक फराकिलो बनाइएको छ, तर, सडक दुर्घटनाको तथ्यांक भने बढ्दो क्रममा छ । सडक दुर्घटनाबाट बटुवासमेत असुरक्षित हुने स्थिति छ । काठमाडौं पेप्सीकोलाको दुर्घटना यसैको एउटा उदाहरण हो ।
काठमाडौँ उपत्यकाको सडक कतै फराकिला छन् त कतै साँघुरा । जस्ता भएपनि सडक न चालकमैत्री छन् न त बटुवामैत्री । सडक सुरक्षाका न्यूनतम मापदण्डको समेत ख्याल गरेको पाइँदैन । जसका कारण दुर्घटना बढिरहेको छ । तरपनि सरकारको ध्यान सडक सुरक्षामा पुगेको छैन ।
प्रहरीको तथ्यांक अनुसार, नेपालमा दैनिक लगभग ७० सवारी दुर्घटना हुने गर्छन् । भौगोलिक बनावट, सडक सञ्जाल, यात्रुको चाप र यातायातका साधनको उपलब्धताका हिसाबले प्रदेश अनुसार सडक दुर्घटनाका कारक र परिमाण फरक छन् । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा १० हजार ६ सय ७५ सवारी दुर्घटनामा भएका थिए । ती दुर्घटनामा एक सय ८७ जनाले ज्यान गुमाएका छन् ।
देशभरी दैनिक औसत ६७ का दरले सडक दुर्घटना हुने गरेको तथ्यांक छ । सबैभन्दा धेरै दुर्घटना बागमती प्रदेशमा भएका छन् । सडक सुरक्षित र व्यवस्थित गर्न बेलाबेलामा सेमिनार र गोष्ठी भइरहन्छन् । तर, कार्यान्वयन पक्ष निकै फितलो बन्दा दुर्घटना न्यूनिकरण हुन सकेको छैन । जसका कारण सडक दुर्घटनाबाट ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ ।


प्रतिक्रिया