Breaking

गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभुति दिलाउन सकेनः प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभुति दिलाउन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, बिस्तार र सेवामा समर्पित गोरखालीहरुलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभुति दिलाउन नसकेको हो । उनले यो विषय सबै नेपालीहरुको लागि गम्भीर सरोकार र चुनौतिको विषय बनिरहेको उल्लेख समेत गरे ।

उनले गोरखालीहरुले ब्रिटिश राज्यको हीतको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेपनि ब्रिटिश सेनामा भर्ती भएका नेपालीहरुलाई तलव, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए ।