काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रियसभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायबारे अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले मुलुकको अर्थतन्त्रलाई गतिदिन लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताए ।
अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्व तहमा छलफल भइरहेको पनि दाबी गरे। उनले सदनमा सदस्यहरूले भनेको जस्तो अर्थतन्त्र कहालीलाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको बताए । अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिबद्धता सरकारसँग रहेको बताए । उनले अर्थतन्त्रमा समस्याका चाङ रहेको स्विकार्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि सबैले धैर्य गर्नुपर्ने बताए ।
उनले शिथिल अवस्थालाई चलायमान बनाउन बोलेर तत्काल चमत्कार हुने विषय नभएको बताए । उनले सरकार इमान्दारी साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टीभन्दा माथि उठेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । महतले आफू अर्थमन्त्री भएर आएको एक महिना भएकाले तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । उनले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाए । उनले अर्थतन्त्रमा बाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि, आयात प्रतिबन्ध लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताए ।


प्रतिक्रिया