काठमाडौँ — प्रतिनिधिसभा सांसद् सुमना श्रेष्ठले संसद् बैठकको बीचमा खाजा समय छुट्याउनुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी हुन् । संसद बैठक ३ घण्टाभन्दा बढी चलेको वा चल्ने अवस्थामा खाजाको विश्राम समय राख्नुपर्ने श्रेष्ठको प्रस्ताव छ ।
विशेष अवस्थामा सभामुखको निर्देशनअनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज गर्न सकिने प्रावधान सँगै राख्ने प्रस्ताव पनि गरिएको छ । त्यस्तै विधेयक अध्ययन प्रोत्साहित गर्न संशोधन प्रस्ताव बुझाउने समय बढाउनुपर्ने बताइन् । सांसद् श्रेष्ठले विधेयक दर्ता भएपछि सदस्यहरूलाई वितरण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने बताइन् । विधेयक दर्ता भएकै दिन सभाको वेवसाइटमार्फत् उपलब्ध गराउनुपर्ने पनि श्रेष्ठको प्रस्ताव छ ।


प्रतिक्रिया