Breaking

भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर

योहो संवाददाता

काठमाडौँ —भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो । प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ११ जना दोषी ठहर भएका छन् ।

सजाय भने २५ फागुनमा सुनाइने भएको छ । उक्त मुद्दामा भोजबहादुर पोखरेल, अशोककुमार भट्टराई र टंकप्रसाद शर्माले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।