विदेश

पेन्सन पाउने उमेर बढाएको विरोधमा फ्रान्समा प्रदर्शन

योहो संवाददाता

काठमाडौँ— फ्रान्समा सेवानिवृत्तिभरण अर्थात् पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्या‍उने योजनाको विरोध गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

फ्रान्सेली सरकारले सेवानिवृत्तिभरण कोषको बोझ कम गर्न भन्दै पेन्सन पाउने उमेर बढाएपछि त्यहाँका नागरिकले विरोध गरेका छन् । पश्चिमा समृद्ध देशहरूमध्ये फ्रान्समा सबैभन्दा लामो पेन्सन अवधि छ । फ्रान्सेली नागरिकले यो व्यवस्थाको निरन्तर हुनुपर्ने माग गरे पनि सरकारले सेवानिवृत्तिभरणको बोझ बढी भएको बताएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेन्सन प्रणालीको निरन्तरताका लागि सुधार आवश्यक रहेको बताउँदै आएका छन् । फ्रान्सका श्रमिक सङ्गठनहरूले सरकारले आफ्नो माग पूरा नगरे मार्च ७ तारिखदेखि फ्रान्समा जनजीवन प्रभावित हुनेगरी हड्ताल गर्ने चेतावनी समेत दिएका छन् ।

राजनीतिक दलबीच भएको मतभेदका कारण संसदमा विवाद बढेपछि सरकारले संसदमा मतदान नगरी अध्यादेशमार्फत् संशोधन कार्यान्वयन गरेको थियो ।