Breaking

माधवलाई चुनावअघि नै घाटा, के होला माधवको पार्टीको हालत ? झाँक्रीदेखि आलेसम्म संकटमा, माधवमात्र ढुक्क


काठमाडौँ— एमालेबाट अलग्गीएको १५ महिनापछि नेकपा एकीकृत समाजवादी संसदीय निर्वाचनमा जाँदैछ । यही निर्वाचनबाट स्थापित हुन खोजिरहेको समाजवादीलाई भने गठबन्धनको मत पाएर निर्वाचन जित्न सकस परेको छ । साढे एक दशकभन्दा बढी नेकपा एमालेको नेतृत्वमा रहेर देशकै नम्बर एक पार्टी बनाउन मुख्यभूमिका खेलेका माधवकुमार नेपाल अहिले फरक परिचयमा छन् ।

एमालेबाट झण्डै डेढ बर्षअघि अलग्गिएर नेकपा एकीकृत समाजवादी बनाएका नेपाललाई नयाँ परिचय स्थापित गर्न संघर्ष गर्नुपरिरहेको छ । र उनको पार्टीले यही निर्वाचनबाट राष्ट्रिय दलका रुपमा स्थापित हुन २० निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट भाग पाएको थियो । तर ‘पहिलो गासमै ढुंगा’ भनेझैं रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि निर्वाचन अघि नै घाटा ब्यहोर्नु परेको छ । अब एमाले विरुद्धको सत्ता गठबन्धनको साहरा लिएर बाँकी रहेका १९ स्थानमै नेपालले जित निकाल्न खोजिरहेका छन् । स्वयंम अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार रहेको रौतहट १ बाहेक बाँकी कुनै पनि क्षेत्रमा यो पार्टीको उल्लेख्य मत छैन । त्यसबाहेक डोल्पामा धनबहादुर बुढा र धादिङ १ मा राजेन्द्रप्रसाद पाण्डे अलि बलिया देखिएका छन् ।

गुल्मी २ मा रामकुमारी झाँक्री, मकवानपुर २ मा विरोध खतिवडा, बारा ४ माकिशान श्रेष्ठ र डोटीमा प्रेम आले जस्ता पूर्वमन्त्रीकै हालत खराब छ । मुख्यतःआफ्नै माउ पार्टीसँग प्रतिस्पर्धा गरिरहेका उनीहरुलाई जित निकाल्न निकै संघर्ष गर्नुपरिरहेको छ । सल्यानमा प्रकाश ज्वालाका विरुद्ध गठबन्धनकै नेतृत्वकर्ता नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले बागी उम्मेदवारी दिएपछि चुनौती बढेको छ । तथापी माओवादीको बलियो पकड र काँग्रेसकै आधा मतपाउने विश्वास सहित ज्वाला जित खोजिरहेका छन् । दाङ १ बाट शहरी विकासमन्त्री मेटमणि चौधरी आफ्नै पूर्व सहकर्मीलाई भिडाएर जितनिकाल्न पक्षमा हुँदा काठमाडौं ८ बाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ एमालेको पकड र स्वतन्त्रको बलिया दाबीलाई पन्छाएर अघि बढ्न खोजेका छन् । इलाम १मा झलनाथ खनाल, अझाम १ मा शेरबहादुर कुँवर, पाल्पा २ मा सोमप्रसाद पाण्डे र उदयपुर २ माजगन्नाथ खतिवडालाई निकै संकट मोल्नु परेको छ ।

तथापी गठबन्धनको पुरापुर समर्थन पाए उनीहरुका लागि निर्वाचन सहज हुनेछ । एमाले अध्यक्ष केपीशर्मा ओलीको निषेध र नेपालको ‘विषालु इख’कै कारण जन्मिएको एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको पुरा साथपाएको थिएन । मतपरिणाम आएको महिनासम्म पनि अध्यक्ष नेपालले चित्तदुखाएरै हिडिरहेका थिए । त्यसपछिको दोस्रो अवसर नेपालका लागि संसदीय निर्वाचन बनेको छ । पार्टी विभाजनको झण्डै १५ महिनापछि पाएको अवसर सदुपयोग गरि ३ प्रतिशत मत पु¥याएर राष्ट्रिय दल बन्नु कम्ता असहज छैन । तथापी उम्मेदवारी दिएका १९ मध्ये अधिकांश र समानुपातिकमा आफ्नै कोर मत तान्न सके समाजवादीलाई सहज हुनेछ ।यसले पार्टी विभाजनको औचित्यमात्रै पुष्टि गर्नेछैन, एमालेका अघि आँखा उठाएर हेर्ने उर्जासमेत भर्नेछ ।