काठमाडौँ— चुनावको मिति नजिकिएसंगै शिर्ष नेताहरुको दौडधुप पनि बढ्दै गएको छ । गृहजिल्ला पुग्ने,मतदाता भेट्ने र चुनावी सभालाई सम्बोधन गर्ने कार्यमा तल्लिन उनीहरु आफूलाई मात्र नभएर अन्य उम्मेद्वारलाई समेत भोट माग्न व्यस्त छन् । असन्तुष्ट नेता कार्यकर्तालाई फकाउँने र आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा नेताहरु देखिएका छन् । चुनावको मिति नजिकिएसंगै दोडधुपमा व्यस्त रहने नेताहरुको अग्रपङत्तीमा छन प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा । कात्तिक १७ गते गृहजिल्ला डडेलधुरा पुगेका देउवा आइतबारबाट सुदूरपश्चिमको धनगढीमा रहेको निजी निवासमा बसिरहेका छन ।
शुक्रबार धनगढी पुगेदेखि नै कार्यकर्ता भेटघाटमा व्यस्त उनले अहिले निजी निवासमा असन्तुष्टहरूलाई बोलाएर भेटघाट र छलफल गरिरहेका छन्।उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निवासमै बोलाएर छलफल गरिरहेका उनलेयहि मेसोमा कार्यकर्तासँग चुनावी अवस्थाका विषयमा जानकारीसमेत लिइरहेका छन्। तर झण्डै साता दिनबाट उपत्यका वाहिर रहेका देउवाको व्यस्तता यतिमा मात्र सिमित छैन ।पहिलो दिन जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकास्थित बागबजारमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका देउवाले दोस्रो दिन नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।
तेस्रो दिन अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका तथा चौथो दिन आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजित आमसभालाई उनले सम्बोधन गरे ।सात चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पश्चिम सेती जलविद्युत् आयोजना र विमानस्थल निर्माण गर्ने, मेडिकल कलेज सञ्चाल गर्ने र ग्रामीण क्षेत्रका सडक स्तरीय बनाउने घोषणा गरे । देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि बाध्य भएर आफू प्रधानमन्त्री भएको र गठबन्धनको आवश्यकता अझै १५–२० वर्ष रहेको भन्दै भोट पनि मागे । देउवा जस्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो बाहेकका निर्वाचन क्षेत्रमा सम्बोधनका लागि दौडधुपमा छन् ।आइतबार मात्रै आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रम सकेर फर्किएका प्रचण्डले रामेछापमा समेत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न भ्याए । आज काठमाडौंमै व्यस्त रहेकाउनी भोलिदेखि भने सुदूरपश्चिम र कर्णालीका जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
यता दार्चूलाबाट चुनावी सभा सुरु गरेको एमालेले पनि अध्यक्ष केपी शर्मा ओलीलाई दौडाईरहेको छ । यसैक्रममा पहिलो दिन दार्चूला पुगेका ओली त्यसपछि कैलाली र सुदुरपश्चिका केहि क्षेत्रमा सम्बोधन गरेर सोमबार पोखरा पुगे । त्यस्तै, स्याङ्जा र बागलुङमा आयोजित सभालाई समेत सम्बोधन गरेका उनले पोखराको कार्यक्रमलाई सम्बोधनको क्रममा देउवाको चुनौतीलाई जवाफ दिएका छन । प्रधानमन्त्री देउवाले भाषणले सीमा फिर्ता नहुने भन्दै बन्दुक लिएर सीमाको रक्षा गर्न जान दिएको चुनौतीको जवाफ दिएका ओलीले संसद विघटनको समेत प्रतिरक्षा गरेका थिए । चुनावी दौडधुप बढाएका नेताहरुमा नयाँ पार्टी देखि मदेशवादी दल र अन्य साना दलका नेताहरु पनि छन । उनीहरु पनि मतदाताको घरघरसम्म पुगेर आश्वान बाढ्न र आफ्ना उम्मेद्वारलाई जिताईदिन आग्रह गर्न व्यस्त छन । यो क्रम अवका आगामी मंसिर १ गतेसम्म कायमै रहने निश्चित छ । मंसिर ४ गतेको चुनावका लागि मतदान सुरु हुनु ४८ घण्टा अघि अर्थात मंसिर २ गते देखि मौन अवधि सुरु हुन्छ। त्यसैले दलहरुले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउँनेछन ।


प्रतिक्रिया