काठमाडौँ— सत्तापक्ष–प्रतिपक्षमा हुँदा एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सारथी जस्ता थिए । कुर्सि गुमाउने र पाउने खेलपछि पनि उनीहरु एकअर्कासँग हार्दिकता नै देखाइरहेका थिए । तर आगामी मंसिर ४ को निर्वाचन मुखमै रहेकाका बेला दुबै जना आक्रामक बन्न थालेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईदुईपटक संसद विघटन गर्दा पनि काँग्रेस सभापति शेरबहादुर देउवालाई खासै आपत्ति थिएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै वर्चश्वमा प्रधानमन्त्रीको कुर्सि देउवाले खोसेपछि पनि ओलीले देउवाप्रति खासै चित्त दुखाएनन् ।बरु देउवालाई उक्साएको आरोपमा प्रचण्ड–माधवमाथि नै ओलीको प्रहार निरन्तर जारी छ । त्यो सिलसिला स्थानीय तहको निर्वाचन हुँदै अहिलेसम्म नदिएको होइन । तर केहीदिन यता ओली–देउवा नै एकअर्काप्रति आक्रामक बन्न थालेका छन् ।शुक्रबार एमाले अध्यक्ष ओलीले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फर्काएरै छोड्ने दाबीसहित एक इन्ज पनि जमिन नछोड्ने उद्घोष गरेपछि देउवा तात्तिएका थिए ।
शनिबार काँग्रेस झनै आक्रामक अभिव्यक्ति दिएर देउवालाई चिढ्याउने काम गरेका छन् । चुच्चे नक्सा जारी गरेका ओलीले निर्वाचनकै मुखमा जमिन पनि फर्काउने दाबीसहित राष्ट्रवादी कार्ड फालेपछि देउवाले चुनावी मुद्धा बनाएको भन्दै आपत्ति जनाएका छन् । चुच्चे नक्साकै जिल्ला दार्चुलामा बोलेका ओलीको जवाफ देउवाले डडेलधुराबाट फर्काएर प्रतिवादको प्रयास गरेका छन् । गुमेको भूभाग फर्काउने भए बन्दुक लिएर सीमामा लड्न जान ओलीलाई देउवाले चुनौती दिएका छन् । पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेका देउवाले यो निर्वाचन नै संविधान च्यात्ने शक्तिविरुद्धको लडाइँ भन्दै ओलीमाथि अझ विषवमनको प्रयास गरेका छन् । राप्रपा, जसपासहितको गठबन्धनको नेतृत्व गरेका ओलीले पनि प्रचण्ड–माधवको कठपुतली बनेको भन्दै देउवाको उछितो काढेका छन् ।
यसअघि नै ‘लाइभ डिबेट’को निम्तो दिएर देउवालाई लल्कारेका थिए । तर यी दुई प्रमुख शक्तिका दुई प्रमुख नेता नै आगामी निर्वाचनमार्फत फेरि देशको नेतृत्वमा आउने सम्भावना छ । एकअर्काको कट्टरविरोधी बनेका उनीहरु पछिल्लो समय आक्रामकमात्रै बनेका छैनन्,वभिन्न मुद्धामा वादप्रतिवाद गरेर भोट बढाउने तयारीमा छन् ।


प्रतिक्रिया