काठमाडौँ— वीपीको विरासत बोकेका पुत्र शशांक कोइराला र नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले सांसद बन्नका लागि नवलपरासी (सुस्तापूर्व) लाई रोजेका छन् । राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्ति उम्मेदवार भएका कारणले पनि बर्दघाट–सुस्तापूर्वको चुनावी चर्चा चुलिदो छ । राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र (बर्दघाट–सुस्तापश्चिम) गरि दुई जिल्लामा रुपान्तरित भएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)लाई नवलपुर पनि भन्ने गरिन्छ । चुनावको मिति नजिकिँदै गर्दा सुस्तापूर्वमा रहेका दुई निर्वाचन क्षेत्रमध्ये वीपीको पारिवारिक विरासत जोगइरहेका डा.शशांक कोइरालाले निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दिएका छन् । उनलाई चुनौती दिन एमालेका कृष्णप्रसाद पौडेल सहित १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।हालको नवलपुर १, २०४८ सालदेखि निरन्तर कांग्रेसले जित्दै आइरहेको क्षेत्र हो ।
यसपटक पनि गठबन्धनका तर्फबाट कांग्रेसका डा.शशांक कोइराला चुनावी मैदानमा छन् । पूर्वमहामन्त्री तथा वीपी पुत्र शशांक माओवादीको लहड चलेको समय ०६४ देखि ०७० मा एकल र ०७४ मा वाम गठबन्धन हुँदा पनि लगातार ३ पटक निर्वाचन जितेर आफ्नो किल्ला निर्माण गरेका नेता हुन् । चौथोपटक निर्वाचन जित्ने कसरतका साथ मैदान छिरेका डा.कोइराला नवलपुरको मुहार फेर्ने बलियो आधार नै कृषि पर्यटन भएको र त्यसको स्पष्ट योजना आफूसँग भएको भन्दै उनी घर दैलो अभियानमा छन् । बाग्लुङमा जन्मेर ०४६ सालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल कोइरालाको १५ वर्षको विरासत तोड्ने लक्ष्यका साथ यसै क्षेत्रबाट संसद् छिर्ने बाटो खोज्दै छन् । ०६४ मा नै हाल गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई पराजित गरेर सांसद बनेका पौडेल डा.कोइरालाको किल्ला तोडेर आफ्नो बनाउन चाहन्छन् ।
१५ वर्षमा त पेन्सन पनि पाक्ने भन्दै डा.कोइरालालाई आराम गर्न सुझाएका पौडेल आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हबको रूपमा विकास गर्ने भन्दै मतदाताको भोट रिझाई रहेका छन् । बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा पर्ने यो क्षेत्रमा स्थानीय तहको मत परिणामलाई आधार मान्दा कांग्रेसभन्दा एमाले बलियो देखिन्छ । जम्मा ५८ वटा वडा रहेको यहाँ ३० वटा वडामा एमाले विजयी हुँदा ७ वटा वडा कांग्रेसले हात पारेको थियो भने एउटामा माओवादीको भागमा परेको थियो ।
तर, गठबन्धनको मतलाई पनि जोड्ने हो भने कांग्रेस अगाडी छ । वडाध्यक्षले ४४ हजार सात सय ७७ मत प्राप्त गर्दा गठबन्धनले ४६ हजार ९६ मत प्राप्त गरेका थिए । एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेको यहाँ गठबन्धन र एमालेका प्रतिष्पर्धीबीच रोचक भिडन्त हुने देखिन्छ ।


प्रतिक्रिया