Breaking

मतदाता रिझाउन उम्मेदवारको नौटंकी, वृद्धाभत्तादेखि दैनिकी सहज बनाउने सम्मका आश्वासन


काठमाडौँ—प्रतिनिधिसभाको निर्वाचन मुखैमा आईसक्दा उम्मेदवारहरु मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा भोट खसाल्न अनेक तरिका अपनाएका उम्मेदवारहरु फेरि पनि उही पुरानै आश्वासनका पोका बाढ्ने र गरेका वाचा पुरा गर्ने भन्दै पानीपँधेरो धाइरहेका छन् । निर्वाचन आयोग अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेपछि केही नजिक र आफ्ना व्यक्तिहरु माझ मात्रै भेटघाट गरि रहेका उम्मेदवारहरु पछिल्लो समय दलबलका साथगाउँ पस्न थालेका छन् ।

निर्वाचन आयोगले घर दैलो र प्रचार प्रसारलाई खुल्ला गरे सँगै नेता तथा उम्मेदवारहरु नजिकका कार्यकर्ताका साथ प्रत्येक मतदाताका घर–आँगनमा पुग्न थालेका हुन् । जसले गर्दा लामो समयसम्म टुटेको जनता र नेता बीचको दुरी पुनः एक पटक जोड्ने पुल बनेको छ । त्यसो त निर्वाचनमा जसरी पनि मत तानेर जित्ने दाउमा रहेका उम्मेदवार र जनताबीच करारमा सम्झौत भएको चोक चोकमा देख्न पाइन्छ । जनताखानेपानी, शिक्षा,स्वास्थ्य लगायतका पूर्वाधारको माग गरिरहेका छन् भने यताभोट पाउनकै लागि मतदातामाझ झुकेका उम्मेदारहरु आफूले सक्ने नसक्ने हैसियत नहेरिकन नै ‘हुन्छ बहादुर’को शैलिमा अघि बढीरहेका छन् । त्यसैले त उम्मेदवारहरु विभिन्न विकास योजना र सेवा सुविधाको आश्वासन सहित घोषणापत्रको प्याकेज बोकेर मतदाता आकर्षित गर्न व्यस्त छन् ।

मतदाताहरु पनि धित खोलेर आफ्ना दैनिक जिवनको समस्या साथै सरकारी कार्यालयमा हुने झमेला र सास्तीलाई सहजीकरण गरिदिन आग्रह गरिरहेका छन् । १२ वर्षमा फर्किने खोलाझै नभएर निर्वाचित भइसकेपछि पनि नभागी जनता माझ नै रही रहन अनुरोध गरेका छन् । त्यसो त जनप्रतिनिधिहरु आफू जनताको प्रतिनिधि भएका कारण सधै जनता माझ नै रहेको तर्क गर्छन् । नेपालमा एउटा प्रचलित उखान छ । १२ वर्षमा खोला पनि फर्किन्छ भन्ने । १२ वर्षमा खोला फर्किन्छ फर्किदैन भन्ने त निश्चित हुँदैन,प्रत्येक ५ वर्षमा दायाँ बायाँ सुरक्षाकर्मी राखेर हिड्ने ठूला नेताहरु भने जनताको झुपडीमा हात फैलाउँदै फर्कने गरेका छन् । आसन्न निर्वाचनमा कतिपय पहिलो पटक त कति दोहोरिएर पनि जनत माझ गइरहेका छन् । त्यही भएर पनि होला उम्मेदवार पिच्छेका मत माग्ने शैली फरक फरक छ ।

मत माग्न उम्मेदवारहरु घरदैलो मात्रै गरिरहेका छैन कि ठाउँ अनुसार खेतबारी, कुलो, पानीपँधेरो पुगेर मतदाता आकर्षित गर्दै रोचक शैलीका परिदृश्यहरु देखाईरहेका छन् । एकातर्फ वृद्धाभत्ताको आश्वासन बाडिरहँदा अर्कातर्फ भने आफूलाई आगामी प्रधानमनत्रीका रुपमा प्रस्तुत गरिरहेका काठमाडौँ ४ का गगन थापालाई ८७ वर्षीय वृद्धाले दिएको शुभकामना चर्चाको विषय बनेको छ । दलीयकरणमा चिरिएको राजनीतिक अवस्थाले ठूला दलका धेरै कार्यकर्ता नेताका पछाडी नै हुन्छन् । तर, जनताबाट निर्वाचित हुनु पर्ने बाध्यता रहेका कारण जनमत कस्का पक्षमा पर्छ भन्ने आंकलन त्यसै गर्न सकिदैन । हिजो घोषणापत्रमा लेखिएको मुद्धा र जनतामाझ गरिएको वाचा पुरा नगरेका उम्मेदवारहरु नै फेरि जनताको आगनमा हात फैलाउँदे पुगेका छन् ।

अहिले पनि जनता सचेत भएनन् र पुनःतिनै नेतालाई नै संसद्को टिकट काटिदिने हो भने अर्काे वर्ष यिनीहरुले केही गरेनन् भनेर पछुताउनु बाहेक अन्यविकल्प रहने छैन । त्यसैले आफ्नो विवेकको प्रयोग गरेर योग्य उम्मेदवार छान्नु नै मतदाताको दायित्व छ ।