Breaking

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष राईमाथी निर्वाचन आयोगमा उजुरी दर्ता


काठमाडौँ – थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईमाथी निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।

सोलेखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै उजुरी परेको हो ।

नेकपा माओवादी केन्द्र सोलुखुम्बुका संयोजक समेत रहेका अध्यक्ष राईले आफ्नै पालिकाभित्र मतदातालाई प्रभावित गर्ने गरि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्बाचन आचारसंहिता बिपरित गठबन्धनका उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै नेकपा एमालेको तर्फबाट उजुरी दर्ता गरिएको हो ।

मुख्य निर्बाचन अधिकृतको कार्यालय सोलुखुम्बुको आचारसंहिता अनुगमन समितिमा नेकपा एमालेका उम्मेदवारको प्रतिनिधिका रूपमा वीर उदास श्रेष्ठ, रामकाजी श्रेष्ठ र दीपक राजभण्डारीले सो उजुरी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्बाचन निर्देशिका – २०७९ र निर्बाचन आचार संहिता परिच्छेद ३ को दफा ५ बमोजिम अध्यक्ष राईलाई कारबाही गर्न माग गर्दै दर्ता भएको सो उजुरीमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य मानबीर राईको प्रतिनिधिको रूपमा वीर उदास,प्रदेश ‘क’ का उम्मेदवार उत्तमकुमार बस्नेतको प्रतिनिधिका रूपमा रामकाजी र प्रदेश ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीको प्रतिनिधिका रूपमा दीपकको हस्ताक्षर छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा आयोजित आमसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बलबहादुर केसी तथा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा ‘क’ का उम्मेदवार गोम्बु शेर्पा ‘कर्ज्याङ’ र ‘ख’ का शिव कुमार बस्नेत ‘राजेन्द्र’संगै गाउँपालिका अध्यक्ष राईले समेत सम्बोधन गरेको उजुरीमा दावी गरिएको छ ।