Breaking

मुद्दाको पेशी तोक्न ढिलाइ गरेको भन्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन


काठमाडौँ— आफ्नो मुद्दाको पेशी तोक्न ढिलाइ भएको भन्दै ‘कुमारी आमा’ निहारिका राजपूतले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेकी छन् । बच्चासहित बालुवाटार पुगेकी उनले प्रहरी घेराबाटै आफूले ओढेको सल सडकमा फ्याँकिन् ।

निहारिका पठाओ चढेर आज साढे १ बजेतिर बालुवाटार पुगेकी थिइन् । त्यहाँ उनी ओर्लिँदा काखको बच्चा निदाइरहेको थियो । पठाओ रोकेर निहारिका ओर्लिनासाथ प्रहरीले उनलाई सोधपुछ गरेका थिए ।निहारिकाले आफू न्याय माग्न राज्यको अभिभावकसामु आएको बताइन् । त्यसपछि प्रहरीले उनलाई त्यहाँ प्रदर्शन गर्न नपाइने भन्दै भाटभटेनीतिर जान आग्रह गरे । तर, निहारिकाले मानिनन् । प्रधानमन्त्री भनेको मेरो पनि अभिभावक हो । आफ्नो अभिभावकलाई वेदना सुनाउन नपाउने भन्दै निहारिकाले मुद्दाको पेशीमा ढिलाइ गरेर आफूलाई न्यायबाट वञ्चित गरिएको आरोप छ ।डीएनए म्याच भइसक्दा पनि रिपोर्ट सार्वजनिक गरिएको छैन ।

अन्यायमा राख्नुभन्दा राज्यले दुईवटा गोली खर्च गरे आवाज सधैँका लागि बन्द हुने उनले बताईन । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा निहारिकले आफूले ओढेको सल फुकालेर सडकमा फ्याँकिदिइन् । प्रहरीले उनी र बच्चालाई झाँगलझुँगल पार्दै गाडीमा हाले । निहारिकाको मुद्दा हाल जनकपुर उच्च अदालतमा विचाराधीन छ । दुई महिनाअगाडि नै उनको मागबमोजिम बच्चा र आरोपीको डीएनए टेस्ट भएको थियो ।

तर, टेस्टको रिपोर्ट सार्वजनिक भएको छैन । अदालतको पेशीमा मात्रै उक्त रिपोर्ट खोलिने बताइएको छ । तर, पेशी पनि अनिश्चित भएपछि निहारिका फेरि सडकमा आएकी हुन् ।