काठमाडौँ — काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो साढे ३ बजे ‘बेस्ट इलिमेन्टरी मन्टेस्वरी स्कुल’ को कक्षा ५ मा अध्ययनरत सामाखुसीका १३ वर्षीय आयुष्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार स्कुल छुट्टीपछि घर फर्किने क्रममा उक्त बसको पछाडिको सिटबाट झ्यालबाट टाउको बहिर निकाल्दा स्कुल गेट नजिकको रुखमा ठोक्किएर दाहालको टाउकोमा गहिरो चोट लागेको थियो । घटनापछि सख्त घाइते उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको र उपचारको क्रममा बालकको बिहीबार बिहान सवा २ बजे मृत्यु भएको एसपी मैनालीले बताए ।
पोस्टमार्टमका लागि दाहालको शव सोही अस्पतालमा राखिएको छ । बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया