Breaking

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाईटीका


काठमाडौँ — काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउन थालिएको छ । बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाईटीका लगाउन शुरु गरिएको हो । दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् । तिहारको पाँचौँ दिन आज भाइटीका दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ । दिदिबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी–बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ । त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिएको कथा छ ।