Breaking

गौतमबुद्ध विमानस्थलको सुरक्षा उपकरण चलाउन भारतले दिएन अनुमति

योहो संवाददाता

काठमाडौँ — २ जेठ २०७९देखि व्यावसायिक रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन घाटामा छ । हप्तामा तीन वटा उडान भइरहेपनि काठमाडौंबाट हुने आकस्मिक अवतरणका लागि भन्दै २४ घण्टा नै खुला राखिएको विमानस्थलको सुरक्षा सम्बद्ध आधुनिक उपकरण भने सञ्चालनमा छैनन् ।

विमानस्थलमा झण्डै एक अर्ब खर्चेर इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम आईएलएस जडान गरिएको छ । विमानस्थलमा कमजोर भिजिबिलीटी हुँदा पनि उडान अवतरण गर्न सकियोस् भनेर आईएलएस जडान गरिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरवाही र भारतीय पक्षको बेवास्ताका कारण आईएलएस भारत सरकारको अनुमतिबिना प्रयोग हुन नसक्ने अवस्था आएको छ ।

आईएलएस एक चुस्त रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरुलाई रातमा वा खराब मौसममा रनवेमा ‘अप्रोच’ गर्न उपकरणबाटै मार्गदर्शन दिन्छ । यो प्रणाली जडानपछि करिब ५०० मिटरको मात्रै भिजिबिलिटीमा नै विमान अवतरण गर्न सकिन्छ । नेपालमा आईएलएस जोडिएको गौतमबुद्ध नै पहिलो विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भिजुअल फ्लाइट रुल्स भीएफआर अर्थात् तोकिएको ‘भिजिबिलिटी’ पुरा भएको अवस्थामा मात्रै विमान अवतरण हुने प्रणाली छ ।