Breaking

प्रचण्डले आँशु झारे, देउवाले पुछ्न खोज्दै,भोट नपाउने चिन्ताले छटपटी, गठबन्धन कसिलो बनाउन अब के ?


काठमाडौँ— चुनाव सम्मुखमै आइसक्दा पनि अन्तरविरोध मत्थर नभएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छटपटीमा छन् । शीर्ष तहमा गठबन्धन सहज देखिएपनि कार्यकर्ता तहमा एकले अर्काेलाई भोट हाल्नै सकस देखिएको छ । यसले अन्तरएकता कायम गर्न शीर्ष नेतृत्वलाई अनेक उपाय लगाउनु परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबारको चुनावी सभामा निकै भक्कानिएर बोले ।चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको उदाहरण दिँदै प्रचण्डले नयाँ उर्जा बटूल्न गोरखा आएको दाबी गरे । कुनैबेला माओत्सेतुङ पार्टीको समस्या, घेराबन्दी र दुश्मनबाट पार पाउन ४० वर्षपछि चिनकाङसाङ फर्किएका थिए । चिनकाङसाङ जहाँबाट छापामार युद्ध सुरु भएको थियो । प्रचण्डले पनि गोरखालाई जनयुद्ध सुरुवातको भूमिगत हेडक्वार्टर बनाएको, पहिलो प्रारम्भिक तालिम पनि गोरखामै लिएको र आफ्नो जीवनकालको अध्यापनसमेत गोरखामै गरेको स्मरण गर्दा भावुक भएर माओत्सेतुङको चिनकाङसाङसँगगोरखालाई दाजेका थिए ।

प्रचण्डभित्र पुष्पकमल अर्थात कठोरताभित्र नरमपनको मिश्रण भएको दावी गर्ने प्रचण्ड धेरै पटक भावनामा बहकिएर भक्कानिने गरेका छन् । उनको बहकाई र आँशुप्रति मानिसहरुले व्यंग्य समेत गर्ने गरेका छन् । गठवन्धनलाई बलियो बनाउनु पर्ने भन्दै उनले आफुले पहिल्यै नै रुखमा भोट हालिसकेको बताएका छन् । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता गर्दा नै आफूले रुखमा भोट हालिसकेको भन्दै प्रचण्डले हसियाँ हथौडामा भोट हाल्न हात कमाए त्यसले विस्तृत शान्ति सम्झौताको महत्व वा संविधानको महत्व नबुझेको हुनुपर्ने आरोप समेत लगाए ।कारण, माओवादी र काँग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक रहेको प्रचण्डको दाबी छ । किनकि कुनैबेला टाउकाको मूल्य तोक्ने र टाउको फोड्नेहरुबीच गठबन्धन बनेको भन्दै यसलाई अप्राकृतिक भनिएको छ ।

विचार, सिदान्त नमिल्नेबीचको गठबन्धन कुनै पनि हालतमा सह्य नभएको भन्दै सार्वजनिक टिकाटिप्पणी भइरहेका बेला प्रचण्डबाट आएको यो अभिव्यक्ति काँग्रेसीको भोट तान्ने प्रयोजनका लागि बढी खपत भएको देखिन्छ । आइतबार काठमाडौं २ मा आएर माओवादी र काँग्रसीलाई प्रशिक्षण दिएका प्रचण्डले २०४६ सालदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटैजस्तो भएको अर्काे किस्सा सार्वजनिक गरेका छन् । किनकि काँग्रेस सभापति देउवाले पनि माओवादीका नेता कार्यकर्तालाई खुशी पार्न प्रशिक्षण दिएर हिडिरहेका छन् ।माओवादीकी ओनसरी घर्ती उम्मेदवार रहेको काठमाडौं दुईमा पुगेर देउवाले अझै पनि प्रतिगमनको खतरा रहेको भन्दै गठबन्धन कसिलो बनाउनुपर्ने दाबी गरेका छन् । चितवन ३ बाटै चुनाव लड्ने पक्कापक्की भएका बेला प्रचण्ड अकास्मात गोरखा हानिएपछि चौतर्फी चासो चिन्ता व्यक्त भइरहेका छन् ।

चितवनमा काँग्रेसबाटै बागी र परिणाम पनि ‘अनसेवर’ जस्तै देखिएपछि सुरक्षित हुन गोरखा पुग्नुलाई अस्वभाविक मानिएको छैन । फलतः कार्यकर्ताका बीचबाटै शीर्ष नेतृत्वले गठबन्धनलाई कसिलो बनाउन आह्वान गरिरहेका छन् । जुन आइतबार काठमाडौं दुईबाट पनि देउवा, प्रचण्ड र माधवले गरेका छन् । तर काठमाडौंकै १०, ६ र ३ मा भने गठबन्धनबीच नै तालमेल जुरेको छैन ।धेरै सिट जित्न गठबन्धनमा ध्यान दिएका शीर्ष नेताले आन्तरिक आकांक्षीको व्यवस्थापन नगरेपछि ‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ जोखिम बढेको छ ।