देश

मन्त्री चौधरीलाई सोध्यो आयोगले २४ घण्टे स्पष्टीकरण


काठमाडौँ— निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै आयोगले चामल वितरण गर्दा आचारसंहिता उल्लंघन भएन भन्ने पुष्ट्याइँको आधार के छ भनी सोधेको छ । आयोगले बाढी पीडितलाई चामल वितरण गर्न पूर्वसहमति लिएको छ कि छैन भनेर पनि सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् ।

सहमति बेगर चामल वितरण गरेको भए यो कार्यक्रम नेपाल सरकरको वार्षिक कार्यक्रममभित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखेको छ । विपदको समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैं किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ। अन्तिममा आयोगले मन्त्री चौधरीलाई किन जरिवाना नगर्ने भनेर पनि सोधेको छ ।