Breaking

निर्विरोध निर्वाचित दिपक मनांगेलाई डेंगु, नर्भिकमा उपचार हुँदै


काठमाडौँ — मनाङबाट प्रदेशसभा सदस्यमा भर्खरै निर्विरोध निर्वाचित दिपक मनांगेलाई डेंगु संक्रमण भए पछि उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको स्वास्थ्य अवस्था जटिल नरहे पनि मनाङबाट हेलीकोप्टरमा काठमाडौँ ल्याइ नर्भिक अस्पतालमा उपचार भइरहेको हो । मनांगेका सहयोगी जोर्ज गुरुङका अनुसार उनी मंगलबार साँझ नै काठमाडौँ आइपुगेका थिए । निर्विरोध निर्वाचित हुने तयारी स्वरुप मनांगेले स्वतन्त्र उम्मेदवार दोर्जे लामालाई उम्मेदवारी फिर्ता गराउने वातावरण मिलाई उनी त्यहाँबाट काठमाडौँ प्रस्थान गरेका थिए ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन । स्वतन्त्र उम्मेदवार दोर्जेले बुधबार उम्मेदवारी फिर्ता लिएपछि मनांगे निर्विरोध बनेका हुन् ।

काँग्रेस, एमाले र माओवादी जस्ता पार्टीलाई चक्मा खुवाउँदै निर्वाचित भए पछि सञ्चार माध्यमहरुमा दिपक मनांगेको चर्चा चलिरहेको छ । मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए । नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुद मन्त्री बनाएका थिए ।

पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बने । पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए । उनैको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उनी युवा तथा खेलमन्त्री बन्न सफल भएका थिए । गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन् ।