Breaking

एमाले–जसपा सहमति नजिक


काठमाडौँ – नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।

नेताहरुका अनुसार केही सिटमा सहमति हुन नसकेको बताउँछन् । जस्तो, बारा २ मा दुबै दलको दाबी छ ।

एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।

धनुषा २ मा पनि दुबै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ ।

दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो। ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् । जसपासँग वार्तामा संलग्न एमाले नेताले आफूहरु सहमति नजिक रहेको छोटो प्रतिक्रिया दिएका छन् ।