काठमाडौँ— नेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने भएका छन् । नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्धिपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्ने गरी समझदारी भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार स्वीस इन्टरनेशनल एयरलाइन्सले सिंगापुर एयर र भारतको भिस्तारा एयरसँग ‘कोड शेयर’ सम्झौतामार्फत नेपाल उडान गर्न चाहेको छ । यस अवस्थामा स्विट्जरल्याण्ड र काठमाडौं सिधा हवाई सञ्जालमा जोडिने छन् । दुई मुलुकबीच हवाई सेवा सम्झौता भने आगामी डिसेम्बरमा गर्ने समझदारी समेत बनेको उनले जानकारी दिए । डिसेम्बरमा नाइजेरियामा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एक बैठकमा दौरान हवाई सेवा सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ ।
अधिकारीका अनुसार स्वीस इटरननेशनल एयरलाइन्सले गौतमबुद्ध र त्रिभुवन विमानस्थल दुबै विमानस्थलमा उडान गर्न सक्नेछन् । नेपालबाट पनि कुनै पनि एयरलाइन्सले सो मुलुक जान चाहेमा जान सक्ने गरी समझदारी बनेको उनले जानकारी दिए । दुई मुलुकबीच अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरान क्यानडामा यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।अब कोड शेयरसँग सम्बिन्धत सम्झौता नेपालको मन्त्रालयमा बुझाएसँगै स्वीसले नेपाल उडानको अनुमति पाउने अधिकारीले जानकारी दिए ।
उता, नेपाल र अमेरिकासँग समेत हवाई सञ्जालमा जोडिने गरी तयारी अगाडी बढेको छ । ‘अमेरिकी नियामक निकायबाट हुने काम करिब पूरा भइसकेको छ, हाम्रो तयारी केही बाँकी रहेकाले मात्र अमेरिकासँग सम्झौता हुन बाँकी रहेको हो,’ महानिर्देशक अधिकारीले भने ।
यसले दुवै देशका वायुसेवालाई एक अर्का मुलुकमा जान सक्ने ढोका खुल्ने उनको भनाइ छ।


प्रतिक्रिया