काठमाडौँ – नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् ।
चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् ।
यसअघि हिजो उनले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।
यसैबीच, लीको सुरक्षाका लागि भन्दै काठमाडौँमा सवारी आवतजावतमा कडा पारिएको छ । जसका कारण उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । ली आवतजावत गर्ने रुट पूर्णरुपमा खाली गराइएका कारण अन्य क्षेत्रमा पनि प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया