Breaking

संसदमा झलनाथ खनालको चिया चर्चा


काठमाडौँ — पूर्व प्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदमा विशेष समय लिएरै चियाको चर्चा गरेका छन् । उनको जिल्ला इलाम चियाका लागि प्रख्यात छ । सुरुमा एसपीपीबारे अमेरिकालाई पत्र लेख्ने विषय कार्यान्वयन नभएकोमा प्रश्न उठाएका खनालले बाँकी समयमा चियाकै बारेमा कुरा राखे ।

आफ्नो लामो सम्बोधनमा खनालले चिया नेपालीको जीवन शैलीसँग जोडिएकोदेखि आफूले जनप्रतिनिधि भएर गरेको काम, चिया उत्पादनको नेपाली र विश्व इतिहास, यसको बजार बारे बताए । खनालले आफ्नो दल समेत सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम तथा बजेटमा यसबारे चर्चा समेत नभएको भन्दै दुःख व्यक्त गरे । ‘सरकारको नीति तथा कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यता जाला कि भन्ने मैले सोचेको थिएँ,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले अघि सार्नु भएको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट आयो तर चियाको उच्चारण कतै हुन सकेन ।’

उनले आफ्नो सम्बोधनमा ‘टि अक्सन सेन्टर’ बनाउनुपर्ने माग पनि गरे । ‘हामीले एउटा टि अक्सन केन्द्रसम्म पनि बनाउन सकेका छैनौं, जसले गर्दा चिया उत्पादक, विक्रेताले ठिक ढंगले व्यापार गर्न पाएका छैनन्,’ उनले भने, ‘अक्सन गर्नका लागि पनि भारतमा धाउनुपर्ने अवस्था छ । हामीले आफ्नै देशका अक्सन सेन्टर बनाउन किन नसकेको रु कल्ले रोक्छ यो कुरालाई । किन राज्यले ध्यान दिन सक्दैन । सम्बन्धित मन्त्रालयले किन यो कुरालाई ध्यान दिन सक्दैन ?

रुलिङको मागसहित उनले अगाडि भने, ‘अक्सन सेन्टर अत्यन्त महत्वपूर्ण छ । यसका लागि म सभामुख महोदयलाई रुलिङ गर्न पनि आग्रह गर्न चाहान्छु । चिया अक्सन सेन्टर तुरन्तका तु नेपालमा बनाउनुपर्‍यो ।