काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका सांसद प्रदीप ज्ञवालीले जनतालाई मूल्यबृद्धि, महँगी तथा अत्यावश्यक वस्तुको अभावले समस्या पर्दा सरकार नदेखिएको बताएका छन् । उनले सरकार रमितेका रूपमा पनि उपस्थित हुन नसकेको भन्दै आलोचना गरेका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद ज्ञवालीले जनताका समस्यामा बहस गर्नुभन्दा पनि सरकारमा रहेका दलहरूले अन्य विषयमा कुरा गरिरहेको भन्दै असन्तुष्टि जनाए ।
किसानले समयमा मल नपाएको, विद्यार्थीले पुस्तक नपाएको तथा मूल्य नियन्त्रणमा सरकारले भूमिका नखेलेको भन्दै उनले सरकारको आलोचना गरेका छन् । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदासमेत सरकारले मूल्य नघटाइरहेको आरोप लगाएका थिए । किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने धारणा राखेका उनले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो भन्ने प्रश्न गरेका थिए ।
‘बढ्दो महँगी, मूल्यवृद्धि र अत्यावश्यक वस्तुको मूल्यवृद्धि छ । सरकार बेखबर देखिएको छ । डिजेल १८ र पेट्रोलमा १५ रुपैयाँ घटाएर पठायो तर आज एक हप्ता भयो मूल्य घटाइएको छैन । बढेर आएको भए रातारात बढाइन्थ्यो, उनले भने । जनताले भोगेका समस्याले सरकार र राजनीतिक दलहरूलाई छुनुपर्ने ज्ञवालीको भनाइ थियो । जनतालाई परेको समस्या समाधान गर्ने सबैको साझा एजेन्डा हुनुपर्ने उनले बताए । हाल मध्यम वर्ग नै मारमा परिरहेको अवस्थामा गरिबीको रेखामुनी रहेका नागरिकलाई झनै जीवन धान्न गाह्रो परेको उनको भनाइ थियो ।


प्रतिक्रिया