काठमाडौँ — ११ महिनामा ७२ करोडको आँप र अम्बा भित्रिएको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५२ हजार ६२९ किलो आँप र अम्बा आयात गरिएको हो । जसबापत विभागले ६ करोड ९६ लाख १८ हजार रुपैयाँ राजश्व उठाएको छ ।

आँपको मुख्य सिजन असारको तथ्यांक आउन बाँकी रहेकाले यस आर्थिक वर्ष १ अर्ब बढीको आँप आयात हुने अनुमान छ । नेपालमा सबैभन्दा बढी आँप भारतबाट भित्रिएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको ११ महिनामा भारतबाट मात्रै ७१ करोड ७३ लाख २६ हजार रुपैयाँ बराबरको आँप आयात गरिएको छ ।
भारतबाट मात्रै १ करोड ४८ लाख ५२ हजार ८९ किलो आँप आयात हुँदा थाइल्याण्डबाट १ लाख २९ हजार रुपैयाँ बराबरको ३०० किलो आँप र अम्बा आयात भएको छ । युगाण्डाबाट समेत १ लाख ३८ हजार रुपैयाँको २४० किलो आँप र अम्बा आयात भएको विभागको तथ्यांक छ ।
आँप र अम्बाको छुट्टाछुट्टै कोड नबनाइएको हुँदा एउटै कोडमा आयात हुने गरेको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले बताए । गत वर्ष १ अर्ब १७ करोड ८४ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ९३ हजार २३६ किलो आँप र अम्बा आयात गरिएको विभागको तथ्यांक छ ।


प्रतिक्रिया