Breaking

बालेनप्रति फुटपाथ व्यापारीको आक्रोश, महानगर प्रहरी र व्यवसायीबीच लुकामारी


काठमाडौँ — शुक्रवार बालुवाटारमा मकै पोल्दै बसेका एक दम्पतीमाथि काठमाडौँ महानगर प्रहरीले गरेको व्यवहार सामाजिक सञ्जालबाट भाइरल भएसँगै महानगरको भुमिकाप्रति बहस सुरु भएको छ । एकथरीले महानगरको व्यवहारलाई निन्दनीय भनेका छन् भने अर्काथरीले कानुन विपरीत काम गर्नेले जो केहीले सजाय पाउनै पर्ने विचार राखेका छन् । बहसकै बीच महानगर अब कसरी अघि बड्ला भन्ने जिज्ञासा सबैमा छ । काठमाडौँ महानगरपालिकामा अहिले महानगर प्रहरी र फुटपाथ व्यापारी बीचयस्ता लुकामारी खेल चलिरहन्छ । काठमाडौँमा देखिने यस्ता लुकामारीको दृश्य अहिले सामान्य जस्तै भइसकेको छ । प्रहरी र फुटपाथ व्यापारीबीचको घम्साघम्सीमा कहिले प्रहरी विजयी हुन्छ भने कहिले व्यापारीले सफलता हात पार्छ ।

हाल महानगर प्रहरी र फुटपाथ व्यापारीबीचको लुकामारीको चर्चा चारैतिर चुलिरहेको छ । पहिले पनि देखिदै आएको यस्ता लुकामारीको दृश्य महानगरमा नयाँ नेतृत्व आएसँगै अहिले झन् बढी देखिन थालेको हो । काठमाडौँलाई व्यवस्थित शहर बनाउन उद्दत देखिएको महानगरलाई फुटपाथ व्यापारीको उठिबास नै लगाउन तल्लिन भएको आरोप पनि लाग्न थालेको छ । यता फुटपाथमा व्यवसाय गर्दै आईरहेका व्यापारीहरु रहरभन्दा पनि बाध्यता भएको बताउँछन् । यही व्यापारले घर धानिरहेका फुटपाथ व्यवसायीहरु यो कानुन विपरीत हो भन्ने थाहा हुँदा हुँदै पनि आफ्ना सामान जोखिममै राखेर व्यापार गर्न पर्ने स्थितिमा छन् । दुईपैसा आम्दानी होला र बालबच्चाको पेट भर्न सकिएला भन्ने आशमा उनीहरुले घाम, पानी धूलो त सहेका नै छन् महानगर प्रहरीको ज्यादती पनि सहन बाध्य छन् । उनीहरुको आक्रोश थामिनसक्नु छ ।

फुटपाथ व्यापारी पनि कम भने छैनन् । दिन भर शान्त जस्तै देखिने फुटपाथ व्यापारीहरु प्रहरीको ड्युटी सकिएसँगै फुटपाथ नै कब्जा गर्न तम्तयार बन्छन् । तर, साँझतिर सडकमा आउने उनीहरुलाई महानगरप्रहरीले झुक्काएर समाउने गरेको छ । केही दिन अघि समाजिक सञ्जालमा भाईरल भएको दृश्य पनि यही श्रृंखलाको सानो अंश हो । यो दृश्यले देशैभरबाट सहानूभुति पाइरहेको अवस्थामा महानगरवासीको कुरा भने अली बेग्लै छ । सडक विस्तारको नाममा काठमाडौँकै रैथाने समुदायको घरमा अनाधिकृत रुपमा डोजर चलाएर कौडीको भाउमा मुआब्जा दिँदा कसैले आवाज उठाएनन् । तर अहिले कानुन विपरीत काम गर्दा पनि उनीहरु कै पक्षमा आवाज उठिरहेको छ । कानुन विपरीत काम गर्न कसैलाई पनि छुट नभएको महानगरवासीको बुझाई छ ।

नेपालको कानुनमा फुटपाथमा व्यापार गर्न नपाइने उल्लेख भए पनि गरीबको पेटमै लात हान्ने अधिकार भने कसैलाई छैन । यस्ता प्रकृतिका व्यापार अहिले पनि विश्वभर नै प्रचलनमा छन् । तर उनीहरुरले यसलाई व्यवस्थित गरेर संस्कृतिकै रुपमा विकास गदैै जाँदा हाम्रामा भने समस्या बन्दै गएको छ । छिमेकी महानगरपालिका ललितपुरले समेत फुटपाथ व्यवस्थापनमा उदाहरणीय काम गर्दा काठमाडौँमा भने त्यो सम्भव देखिएको छैन । परिणामत फुटपाथ र महानगरको भिडन्त सजिलै टुंगो लाग्ने देखिदैन । यसका लागि महानगरले विज्ञ टोली नै गठन गरेर व्यवस्थित गर्ने वा यसलाई प्रतिबन्ध लगाउने भन्नेमा यथाशीघ्र निर्णाय लिन जरुरी छ । अन्यथा यसले ठूलो दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन ।