काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेस स्थानीय तहको नजितामै रमाईरहदाँ अन्य दलहरु भने आगामी निर्वाचनको तयारीमा जुटेका छन । निर्वाचनको समिक्षा, सम्भावित समिकरणका बारे अन्य दलले छलफल चलाँउदा गठबन्धनभित्रै नयाँ समिकरण देखिने सम्भावना बढेको छ । संसदीय निर्वाचनको मिति घोषणा नहुँदै दलहरु सम्भावित नयाँ समिकरणको तयारीमा जुटेका छन । आगामी निर्वाचनमा कसरी ठुलो शक्ती बन्ने र सरकारमा पुग्ने भन्ने अर्जुनदृष्टिका साथ अघि बढेका उनीहरुले छलफल र भेटघाटलाई तिव्रता दिएका छन ।
एकातर्फ सत्ता गठबन्धन अघि बढिरहँदा अर्कोतर्फ गठबन्धन भित्रै मिनि गठबन्धनको तयारी भइरहेको छ । सत्ताघटकभित्रै सबैभन्दा नजिक देखिएका माओवादी र एकीकृत समाजवादीबीच मिलनको चर्चा समेत सुरु भएको छ । एकातर्फ कांग्रेसले पेलेरै अघि बढ्ने परिस्थिती र आगामी निर्वाचन पश्चात पनि उसकै हातमा देशको वागडोर जाने कुराले समेत प्रचण्ड विकल्पको खोजिमा लागेका छन । यता कम्युनिष्टलाई भिडाएरै बहुमत जुटाउने तयारीमा लागेका देउवा र उनको पार्टीको व्यवहारले पनि अन्य दलहरु सशंकित भएका छन् ।
यता तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठक बसेरविभिन्न पार्टीबीच एकताबारे प्रस्ताव नै गरिएको छ । बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भएको उक्त छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच चुनाव अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । जसबारे अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् ।
सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा विफ्रिङ गरेका नेपालले पार्टी एकताको प्रस्ताव सकारात्मक भएको तर पार्टीभित्र पनि छलफल गरेर मात्र यसमा निर्णयमा पुग्न सक्ने बताएका छन । कांग्रेसले चाहे अनुसार सिट दिन नसक्ने तथा दिएपनि कांग्रेसकै अर्को गुटले भोट नहाल्ने भएका कारण एक हुने परिस्थीतिमा पुगेका उनीहरुलाईएमाले भनेसाथ हुने देखिँदैन । यो प्रवाहमा एमालेलाई पनि समेटन दोश्रो तहका नेताहरुले भने प्रयास जारी राखेका छन । एमाले नेतृत्वले पनि गठबन्धनलाई अप्राकृतिक भएको भन्दै टाउकोको मूल्य तोक्ने र टाउकोमा बम पड्काउनेहरुबीचको एकताले देशलाई निकास नदिने बताउने गरेका छन् ।
संघीय निर्वाचनको संघारमा दलहरुबीचको अविश्वासको वातावरणले दलहरुको समीकरणमै फेरवदल नआउला भन्न सकिँदैन । विगतमा पनि संसदीय निर्वाचनमा यहि अवस्था सिर्जना भएको र वाम गठबन्धन भारी परेको देउवाले विर्सिएका छैनन् । तर पार्टीभित्र चुनावी समिक्षा समेत गर्न आवश्यक नठानेका देउवा भने गठबन्धनलाई विश्वासमा पारेर अन्तिम चरणसमम भागवण्डा नटुंग्याउने र कम्युनिष्टहरुलाई एक हुन नदिने रणनीतिमा छन् ।


प्रतिक्रिया