Breaking

बजेट निर्माणमा बिचौलिया प्रयोग भएको ओलीको तर्क, छानबिनका लागि संसदीय समिति गठन गर्न माग


काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभामा सोमबार सम्बोधन गर्दै उनले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भनिरहेका बेला एमाले अध्यक्ष ओलीले यस्ता अभिव्यक्ति गैरजिम्मेवार खालको भएको टिप्पणी गरे ।

यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ‌ओलीले भने, योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ । उनले मन्त्रीहरूले अनेक गर्दा पनि प्रधानमन्त्री निरीह भएर बसिरहेको आरोप लगाए । उनले कुनै अधिकारीले जिम्मेवारी नलिए प्रधानमन्त्रीय प्रणाालीमा प्रधानमन्त्री नै जिम्मेवार हुने उल्लेख गरे । अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न मिल्दैन ओलीले भने, संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जवाफदेही भएनन् भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ । उनले बजेटमा सेटिङ गरेर करको दर बढाउने , घटाउने गरिएको बताए ।