Breaking

पार्टी खोलेको ५ दिनमै वामदेव ‘आउट’

योहो संवाददाता

काठमाडौँ — नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् ।

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा आयोजित अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले संयोजक गौतमलाई निष्कासन गरेको हो ।

पूर्व एमाले नेता वामदेव गौतमले आफ्नै अध्यक्षतामा असार १४ गते ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टी घोषणा गरे ।

ललितपुरको धोबीघाटमा यसैसाता भव्य घोषणा सभा पनि भयो । लगत्तै नेता गौतम वाम एकताको प्रस्ताव लिएर केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई भेट्न दौडिए । तर ‘भुइँको टिप्न खोज्दा गोजीको झर्यो’ भन्ने नेपाली उखान जस्तै गौतमले भेला पारेका साना पार्टीका केही नेताले शनिबार वामदेव गौतमलाई नै पार्टीबाट निस्कासन गरेको घोषणा गरेका छन् ।

यो घटनाले वामदेव गौतमको नवघोषित एकता अभियान ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै देखिएको छ ।

वामदेव गौतमलाई पार्टीबाट निस्काशित गरेको विज्ञप्तिमा भनिएको छ : आम नेपाली पार्टी प्रमुखहरुको बैठक सतुंगलस्थित एक पार्टी प्यालेसमा बसी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक कमरेड बामदेव गौतमलाई अभियानमा जोडिएका चार पार्टीको बहुमतबाट अभियानको संयोजकबाट निष्काशन गरिएको छ ।’