काठमाडौँ — भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइ जस्तै ‘मुखको तीतो मेट्न’का लागि चपाइनै त्यस्ता वस्तुको आयातका लागि मात्रै झन्डै ४१ करोड रुपैयाँ बराबरको लगानी गरिएको छ ।
विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रुपैयाँ रकम बाहिरिएको छ। नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ। त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ ।
११ महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौंमा हुने गरेको छ । ती खाद्य पदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ ।
चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्रै मुलुकबाट ६६ करोड ६५ लाख २५ हजार बराबरको रकम बाहिरिएको छ । यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म एक अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ ।


प्रतिक्रिया