काठमाडौँ — पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयका राम लामा साथीको हात समातेर सोमबार मुस्किलले खारखोला तरे । विद्यालय छुट्टी भएपछि घर फर्कन माथिल्लो कक्षाका विद्यार्थी एकले अर्कोको साथ लिए । साना कक्षाका विद्यार्थीलाई शिक्षकले बोकेर पार गराए । दुई दिन भयो, खोला तरेर विद्यालय आउन जान थालेको, खोला सानो भएको बेला असजिलो हुँदैन, ठूलो पानी परे विद्यालय पुग्नै मुस्किल, धर्मोदयका विद्यार्थी जंग तामाङले भने । सोमबार धर्मोदयका विद्यार्थी खारखोलाको भेल तरेर विद्यालयबाट घर फर्किए ।
पानी परेर खोला बढेको दिन भने विद्यार्थी विद्यालय जान सक्दैनन् । शनिबार रातिको अविरल वर्षा पछिको बाढीले विद्यालय पुग्ने पुलको पहुँचमार्ग बगाएपछि विद्यार्थी खोलामा हेलिएर विद्यालय आउजाउ थालेका हुन् । खोला बढेपछि पारिका विद्यार्थी विद्यालय आउन नसक्ने धर्मोदयका शिक्षक नानीबाबु अधिकारीले बताए ।
अधिकारीका अनुसार खोला बढेपछि आइतबार १२० जना विद्यार्थी अनुपस्थित रहे । सोमबार पनि सबै विद्यार्थी विद्यालय आउन सकेनन् । धर्मोदयका विद्यार्थीलाई पैदल हिँड्न सजिलोका लागि चार वर्ष अघि पुल निर्माण भएको थियो । उक्त पुलको पहुँचमार्ग बगाएपछि विद्यार्थी जीर्ण काठको फड्केबाट पनि आउजाउ गर्दै आएका छन् ।

चार वर्ष सम्म प्रयोगविहीन वनेको काठे पुल फड्केबाट आउजाउ गर्न पनि डरमर्दो रहेको विर्दीकी अनुपा कुमालले बताइन् । काठ सबै मक्किएको छ, बार पनि गतिलो छैन, पानी परेको बेला त चिप्लन्छ कि भन्ने डर छ, उनले भनिन् । फड्के जीर्ण बनेर जोखिम बढेपछि खोलाबाटै विद्यार्थीलाई वारपार गराउने गरेको धर्मोदय माविका प्रध्यानाध्यापक कृष्ण न्यौपाने बताउँछन् ।


प्रतिक्रिया