Breaking

वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा


काठमाडौँ — गए रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दी चोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए । यसैगरी पहिरोले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ ।

डुबान र पहिरोका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए । बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन । उनले भने, “भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्याए पनि मानवीय क्षति भएको छैन ।”घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकोमा आश्रय लिएका छन् ।