काठमाडौँ — हाम्रै अवस्थाबाट गुज्रीएको मुलुक श्रीलंका बुधबारबाट विधिवत् रुपमै टाट पल्टिएको छ । त्यहाँका प्रधानमन्त्री संसद्को रोस्टममा उभिएर देश टाट पल्टिएको घोषणा गर्दाको क्षण साच्चिकै भयावह थियो । उस्तै नेतृत्व र उस्तै नियती देखिँदै आएको नेपाल पनि कहिले टाट पल्टिन्छ ? दिनगन्तीमात्रै भइरहेको छ । श्रीलंकाली प्रधानमन्त्री रणिल विक्रमासिंघेले बुधबार संसदको रोस्टममा उभिएर देश टाट पल्टिएको भन्दै आत्मसमर्पण गरे । जुन निकैकारुणिक र टिठ लाग्दो थियो ।किनकि राजनीतिक नेतृत्व र गलत नीतिकै कारण देश टाट पल्टिएको हो । अहिले श्रीलंका भयावह बनेको छ । आक्रोशित जनता नेता खोजी खोजी कुट्न थालेका छन् ।
उस्तै नेतृत्व र उस्तै नियती देखिँदै आएको नेपालमा पनि अवस्था त्यस्तै नआउँला भन्न सकिन्न । जसको पुष्टि सरकारको आर्थिक सल्लाहकार रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइले गरेको छ । उनले नेपालको आर्थिक अवस्था श्रीलंकाकै बाटोमा रहेको दाबी गरेका छन् ।
आज नेपालमा पनि अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा चौतर्फी रुपले माग भइरहेको छ । राजनीतिक नेतृत्वकै कारण देश कंगाल बन्दै गएको भन्दै आक्रोशहरु चुलिएका छन् । बिहिबारमात्रै शर्माको राजीनामा माग गर्दै प्रदेश एकमा व्यापक प्रदर्शन भएको थियो । काठमाडौंसहितका मुख्य शहरमा समेत अर्थमन्त्री, महंगी र सरकारले लिएको नीतिबारे आगो बलिरहेको छ ।
आर्थिक तथ्यांकलाई केलाएर हेर्दा चालु आर्थिक बर्षको ११ महिनामा मूल्यवृद्धि करिब ८ प्रतिशत बढेको छ । अझ खानेतेल र पेट्रोलियम पदार्थको मूल्य छोइसक्नु छैन ।साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ । यसको अर्थ हाम्रो एक बर्षको बजेट १७ खर्ब बराबरको छ । बजेटकै अनुपातमा हुने गरि त्यो पनि ११ महिनामै १७खर्ब बढीको विदेशी माल बस्तु किनेर गुजारा चलाएका छौं ।
जबकि ११ महिनाकै अवधिमा हामीले मात्र १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको मात्रै माल बस्तु बेचेका छौं । भन्सार विभागको तथ्यांक अनुसार समग्रमा आयात ठूलो भएकाले मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ । जसको चुक्ता हामीले उत्पादन बढाएर गर्नुपर्ने हो । तर सरकारका योजना नारामा मात्रै सीमित छन् । उत्पादन बढ्ने त सम्भावना न्यूनमात्रै होइन, छदैछैन । शेयर बजारमा लगानी गरिरहेका लगानीकर्ताले केही महिनामै करिब १५ खर्ब सम्पति गुमाएका छन् ।
अर्थतन्त्रका सूचक सुधार भए र बैंकबाट लोन लिन सहज भए शेयरमा सुधार आउने थियो । जुन छाँटकाट अहिले नै देखिएको छैन । जसको मतलब लगानीकर्ताको सम्पति अझै डुब्दै जानेछन् ।पछिल्लो नौ महिनाको बैंकिङ प्रणालीमा निक्षेप दुई खर्ब १० अर्ब रूपैयाँ मात्रै बढ्यो । अर्थात कुल ८ खर्ब ८३ अर्ब थपिँदा प्रणालीमा करिब २४ प्रतिशत रकम मात्रै बसेको छ । थपिएको मध्ये ६ खर्ब बराबरको रकम प्रणालीमै देखिएको छैन । जुन कहाँ गायव भयो जवाफ पाइएको छैन ।
११ महिना वितिसक्दासमेत ३८ प्रतिशत पनि खर्च भएको छैन । अब यो आर्थिक बर्ष सकिन मात्र २२ दिन बाँकी छ । सरकारले २२ दिनभित्रै ११ महिनामा नभएको ६२ प्रतिशत विकास खर्च गर्नुपर्नेछ । तर राजनीतिक दलहरुले यही विषयमा हानथाप गरिरहेका छन् । देशलाई कंगाल बनाएर अझै सत्ताभोग मेटिएको छैन ।
यता मुलुकको ढुकुटी सम्हालिरहेको राष्ट्र बैंकले ६ महिना मात्रै धान्ने सक्ने रकम रहेको बताइरहेको छ । अर्थतन्त्र विग्रिनु र महँगी अकासिनुमा अन्तर्राष्ट्रिय बजारबाहेक माग अनुसारको आफ्नै उत्पादन नहुनु हो । तर, कृषि वस्तुहरुमा समेत बढ्दै गइरहेको परनिर्भरता घटाउँदै जाने दीर्घकालीन सोच त सरकारसित छैदँछैन, अचाक्ली बढिरहेको मूल्यवृद्धि नियन्त्रणतर्फ त झन मतलब गरेको छैन ।


प्रतिक्रिया