काठमाडौँ — काठमाडौं महानगरपालिकाको प्रमुख समस्यामध्येको फोहोर व्यवस्थापन अग्रपंतिमा आउँछ । महानगरले पनि फोहोर व्यवस्थापनमा समय समयमा नयाँ नयाँ योजना ल्याउने गर्दछ । आगामी साउन १ देखि लागू हुनेगरी काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा नयाँ नियम लागु गर्ने भएको छ
काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरैमा व्यवस्थापन गर्न महानगरवासीलाई आग्रह गरेको छ ।
महानगरले फोहोर उत्पादनको स्रोत घर नै भएकोले केन्द्रविन्दुबाटै त्यसलाई व्यवस्थित गर्न सके फोहोर व्यवस्थपन सहज हुँदै जाने बताएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले यसअघि नै कुहिने र नकुहिने फोहोर घरैमा छुट्याउनु पर्ने अन्यथा फोहोर नउठ्ने घोषणा गरिसकेका थिए । त्यसै घोषणा अनुसार अब महानगरले एक दिन कुहिने र अर्काे दिन नकुहिने फोहोर उठाउने भएको छ ।
फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी एक दिन नकुहिने र अर्को दिन नकुहिने मात्र फोहोर संकलन गर्ने भएको हो । फोहोर पृथकीकरण नगरे काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने महानगरले जनाएको छ ।
यता महानगरवासीले पनि यो कार्यको स्वागत गरेका छन् । फोहोर कै कारण काठमाडौँमा हैजाको महामारी फैलने डर भएको बेला महानगरको यो कार्य सकारात्मक छ । महानगरलाई स्वच्छ र सुन्दर बनाउन महानगरको जति नै राजधानीबासीको पनि भूमिका रहने उनीहरुको बुझाई छ ।
काठमाडौँमा उचित फोहोर व्यवस्थापन नभएको भन्दै संसद्मा आवाज पनि उठिरहेको छ । फोहोरको कारणले काठमाडौँवासीको स्वस्थ्यमा समस्यामात्रै देखिएको छैन कि राजधानीमा नै हैजा जस्तो महामारी फैलिएको छ । काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्थामा जैविक र अजैविक फोहोर पृथकीकरणको जिम्मा उत्पादनकर्ता नै हुने उल्लेख गरिएको छ ।
तर, केही महिनाको प्रयोगपछि भने यो कार्यान्वयनमा आउन सकेको थिएन । घरैमा उत्पादन भएको कतिपय फोहोरहरु कवाडीमा जान वा बिक्री पनि हुन सक्ने भएकोले आर्थिक पाटोमा फाइदा त पुग्छ नै साथै बञ्चरे डाँडालाई पनि धेरै भार नपर्ने देखिन्छ ।


प्रतिक्रिया