काठमाडौँ — आफ्ना बुवासँग कुनै पनि प्रकारको नाता सम्बन्ध कायम राख्न नचाहेको भन्दै विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्ककी समलिङ्गी छोरीले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी छिन् । १८ वर्षकी जेभिएर एलेक्जेन्डर मस्कले अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग गर्दै निवेदन दिएकी हुन् ।
सान्टा मोनिकास्थित लस एन्जल्स सुपेरियर कोर्टमा उनले नाम परिवर्तन तथा नयाँ जन्मदर्ताका लागि गत अप्रिलमा निवेदन दिएकी भएपनि बल्ल सार्वजनिक भएको हो । आफ्ना अर्बपति बुवा एलन मस्कसँग उनकी छोरीले किन नाता सम्बन्ध विच्छेद गर्नका लागि अदालत गुहारेकी हुन् भन्ने प्रष्ट भएको छैन ।
टेस्ला तथा स्पेस एक्सका मालिक मस्कले पनि यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । मस्कले क्यानेडियन लेखिका जस्टिन विल्सनसँग सन् २००० मा बिहे गरेका थिए र उनीहरुबाटै ती छोरीको जन्म भएको थियो । जस्टिन र मस्कबीच सन् २००८ मा सम्बन्ध विच्छेद भयो । मस्क र जस्टिनबाट सन् २००२ मा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । नेभादा नामका ती शिशुको १० हप्तामै मृत्यु भएको थियो ।


प्रतिक्रिया