काठमाडौँ — बागमती प्रदेश सरकारले विगत चैतदेखि आफ्ना निर्णयहरु सार्वजनिक गरेको छैन । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको चैतसम्मका निर्णय सार्वजनिक गरे पनि त्यस यताका कुनै पनि निर्णय बाहिर ल्याएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले प्रदेश सरकारको नेतृत्व गठबन्धनले गरेदेखि केही महिना निरन्तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको थियो ।
चैत यताको निर्णय भने सार्वजनिक गरेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्याय लुईटेलले सरकारबाट निर्णय सार्वजनिक गर्न अनुमति नआएकाले सार्वजनिक नगरिएको बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट अनुमति हुना साथ केही दिनभित्रै वेबसाइट मार्फत् निर्णयहरु सार्वजनिक गरिने बताए ।
सरकारको आफ्नै नीति नियम अनुसार सबै निर्णय सिष्टमबाटै सार्वजनिक गरिने उनले बताए । उनले भने, सरकारको निर्णय सार्वजनिक हुनुपर्छ, लुकाएर राख्ने कुरा पनि होइन, सरकारको आफ्नै नीति र नियम छ, समयसीमा पनि कायम गरिएको छ ।


प्रतिक्रिया