काठमाडौं — नेपाल आयल निगमको आइतबार साँझको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर २१, डिजल र मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेपछि यसको विरोध भइरहेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी अब पेट्रोल एक लिटरको १९९ र डिजल तथा मट्टितेल १९२ रुपैयाँ पुगेको छ ।
इन्धनको मूल्य निर्धारण गर्न निगमको सञ्चालक समिति स्वतन्त्र छ । तर एकै पटक यति धेरै मूल्य बढाउन सञ्चालक समितिका अधिकारीहरु डराइरहेका थिए । तर उनीहरुलाई प्रधानमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले नै ढाडस दिएपछि उच्च मूल्यवृद्धि भएको निगमका अधिकारीहरु नै बताउँछन् ।
सञ्चालक समितिले लगेको प्रस्तावमा प्रधानमन्त्री र मन्त्रीले स्वीकृति दिएपछि समितिमा केही असहमतिका बाबजुद इन्धनमा उच्च मूल्यवृद्धि भएको छ । निगम सञ्चालक समिति अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेय र निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले प्रधानमन्त्री देउवा र मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रस्ताव भन्दै सञ्चालक समितिको बैठकमा दबाव सिर्जना गरेको सञ्चालक समिति स्रोत बताउँछ ।


प्रतिक्रिया