काठमाडौँ — नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। सोमबार विहान बालुवाटार पुगेर थापा र शर्माले देउवासँग पार्टी र समसामयिक राजनीतिक घटनाक्रममाथि केन्द्रित रहेर छलफल गरेका हुन्। पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे आन्तरिक छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जनाकारी दिएको छ ।
उक्त विषयमा भोलि थप छलफल हुने छ । गत मंसिरमा १४ औं महाधिवेशन गरेको काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थान छ । तर काँग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ । पार्टीका विभिन्न समिति र विभाग गठनमा भएका छैनन् ।


प्रतिक्रिया