काठमाडौँ — नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न सुझाव दिएका छन्। आइतबार सम्पादकहरुसँग छलफलका क्रममा नेता नेपालले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन्। ‘गठबन्धन–गठबन्धनको गीत गाउन बन्द गर्नुस्। आफ्नो खुट्टामा उभिनुस्’ नेपालले भने, ‘संगठन निर्माणमा जोड दिनुस्। एक्लै चुनाव जित्ने गरी तयारी गर्नुस्। नेता नेपालले अहिलेको स्थानीय चुनावमा भन्दा आगामी संघीय र प्रदेशको चुनावमा राम्रो मत ल्याउन दाबी पनि गरे।
उनले आफ्नो संगठन कमजोर नरहेको बताए। उनले अहिलेको अवस्थामा आएको मत परिणामले उत्साहित बनाएको पनि बताए। सबै ठाउँमा कमिटी बनाउन नसकेको, ७० प्रतिशतको सेरोफेरोमा मात्रै कमिटी बनेको, सबै ठाउँमा उम्मेदवार बनाउन सक्ने अवस्था रहेपनि उम्मेदवार उठाउन नसकिएको अवस्थामासमेत स्थानीय चुनावमा ल्याएको मतपरिणाम उत्सहजनक रहेको उनले बताए। गठबन्धनकै कारण पोखरा महागर र हेटौँडा उपमहानगर जित्न सफल भएको उनले बताए।
मतपत्र बदर नभएको नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहे पनि उनले बताए। उनले भने, धेरै मतपत्र बदर भयो। बदर भएका कारण हाम्रा धेरै उम्मेदवार जित्न सकेनन्। नेता नेपालले अहिले मतपत्र बदर भएको अवस्थालाई ध्यान दिँदै आगामी निर्वाचनमा उठेका उम्मेदवारहरु मात्रै भएको चिह्न राख्ने, प्रमुख उपप्रमुख र वडाको छुट्टाछुट्टै मतपत्र बनाउन सुझाव पनि दिए। यस्तै, उनले वडाअध्यक्षको मात्रै चुनाव गर्न र वडासदस्य मनोनित गर्न सुझाव पनि दिए।


प्रतिक्रिया