काठमाडौँ — प्रधानमन्त्रीले चाहेको अवस्थामा समय लिएरै भएपनि राष्ट्रिय महत्वको विषयमा सम्बोधन गर्ने चलन छ । प्रधानमन्त्रीले नचाहँदा पनि सभामुखले रुलिङ गर्नुपर्छ । तर प्रधानमन्त्री देउवा संसदमा उठेका प्रश्नको जवाफ दिनबाट भागिरहेका छन् । सदनदेखि सडकसम्म भने कम्युनिष्टहरुकै बाझाबाझ चलिरहेको छ । विवादित अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेरमा विचौलिया भित्र्याएको विषय सार्वजनिक भयो, संसदमा प्रधानमन्त्रीसँग जवाफ मागियो ।
अमेरिकी सैन्यसम्झौता स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का आपत्तिजनक १० बुँदा सार्वजनिक भए । देश नै आतंकित बन्यो, संसदमा प्रधानमन्त्रीसँग जवाफ मागियो । आजभोलिका हरेकसंसदमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजि भइरहेको छ । तर जवाफ दिनुपर्ने जिम्मेवारीबाट पन्छिएर देउवा गायब भइरहेका छन् ।
सत्तापक्षदेखि प्रतिपक्षका सांसदहरुले प्रधानमन्त्रीको खोजि गर्न थालेको चार दिन वित्यो । मन्त्रीबाट चित्तबुझ्दो जवाफ नपाएको भन्दै चर्काे स्वर गरिरहेको प्रतिपक्ष संसद् बहिष्कार गर्दै हिडिरहेको छ ।प्रधानमन्त्रीले चाहेको अवस्थामा समय लिएर राष्ट्रिय महत्वको विषयमा सम्बोधन गर्न सक्ने व्यवस्था छ । नभए सभामुखले रुलिङ गरेरै भएपनि प्रधानमन्त्रीबाट जवाफ दिलाउनुपर्छ । तर यी दुबैको मिलेमतोमा प्रधानमन्त्री संसदमा उभिएर समस्या सम्बोधनका लागि बोल्न डराइरहेका छन् ।
उनी बोल्न नआएर वा बोल्न नचाहेर भन्दा पनि राष्ट्रियताविरुद्धका मुद्धामा सहभागिता देखिएपछि विपक्षीको थाप्लोमा हाल्न उम्किरहेका छन् ।र, त्यो भन्दा पनि बढी चातुर्यता देउवाले ओली–प्रचण्ड जस्ता कम्युनिष्टहरुलाई भिडाउनुमा देखिरहेका छन् । अर्थमन्त्रीदेखि एसपीपीसम्मका विषयमा ओली–प्रचण्डको बाझाबाझ भइरहेको छ । देउवा रिङबाहिर बसेर बाजी मार्न खोजिरहेका छन् ।
आगामी संसदीय निर्वाचनअघि नै वाम एकता भइहाल्ने चर्चा चलिरहेका बेलादेउवाको करामत कम्युनिष्टलाई भारी पर्ने देखिएको छ । तर देउवाको चलाखीलाई नजरअन्दाज गरेका ओली–प्रचण्ड बरु जुहारी खेल्नुलाई आफ्नो राजनीति ठानिरहेका छन् । पार्टीले सत्ता निर्माण गर्छ कि सत्ताले पार्टी ? यो प्रश्न देउवाका लागि निकै अह्म हो ।दुईपटक पार्टी सभापति र पाँचौं पटक प्रधानमन्त्री बनेका देउवा निर्वाचनपछि पनि आफु नै प्रधानमन्त्री हुने सुरक्षित बाटो खनिरहेका छन् ।
यसका लागि प्रथमदृष्टिमै कम्युनिष्टको विभाजन र अहिलेकै तिक्तता कायम रहन आवश्यक छ ।जुन निर्वाचनअघि नै एक रहने सम्भावनाबाहिर छ । एमाले अध्यक्ष ओली नेतृत्वको पहिलो सरकारमा माओवादीलाई गठबन्धनबाट अलग गराएर देउवा प्रधानमन्त्री बनेका थिए । अहिले माओवादीसहितका पाँच दलको गठबन्धन मिलाएर देउवा प्रधानमन्त्री बनेका छन ।
पार्टी निर्माणमा भन्दा संसदको अंकगणितमा खेलेरै पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने सौभाग्य मिलेपनि आफै जनमत लिएर भने देउवा अहिले सम्म प्रधानमन्त्री भएका छैनन ।मुलतः यतिबेला सत्ता जोगाउन र गठबन्धन बचाउन देउवाको जति चिन्ता छ र चासो छ, सरकारका काम र जनताका मुद्धा सम्बोधनमा उत्तिकै बेपरवाह बनेका छन् ।


प्रतिक्रिया