Breaking

सरकार खर्च गर्न नसकेर पुर्ण असफल ! विकास खर्च ३६ प्रतिशत मात्र ।


काठमाडौँ — चालु आर्थिक वर्षमा पनि सरकारले विनियोजित विकास (पुँजीगत) बजेट खर्च गर्न नसक्ने निश्चित छ । सरकारले हालसम्म गरेको विकास खर्चलाई हेर्दा बाँकी एक महिनाको अवधिमा ७३ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने वाध्यता रहेको छ ।

मुश्किलले एक महिनामा १० प्रतिशत समेत विकास खर्च गर्न नसक्ने सरकारले बाँकी समयमा उक्त रकम खर्च गर्न सक्ने कुनै आधार देखिदैन । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३६ दशमलव दुई प्रतिशत पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएकोमा मंगलबारसम्ममा एक खर्ब ३६ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ ।

निर्माण व्यवसायीको निर्माण होलिडेको असर विकास खर्चमा परेको छ । खरिद नियमावली संशोधनको माग राख्दै निर्माण व्यवसायी आन्दोलनरत भएसँगै मुलुकमा विकास निर्माणका काम ठप्प भएका छन् । सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नगर्दा विकास खर्च गर्ने मन्त्रालयहरु निरहि बन्न वाध्य भएका छन् । अर्कोतर्फ राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजनाहरुको समेत निर्माण कार्य रोकिन पुगेको छ । जसको असर पुँजीगत खर्चमा परेको छ ।

पूर्वाधार विकासमा ठूलो बजेट खर्च गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालसम्म ४१ प्रतिशत मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि एक खर्ब ५६ अर्ब २५ करोड १० लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा हालसम्म ६४ अर्ब छ करोड २९ लाख २६ हजार रुपैयाँ मात्र खर्च गरेको छ । सडक, पूल लगायतका पूर्वाधारहरुको निर्माण कार्य नहुदाँ मन्त्रालयको खर्चमा कमी आएको हो ।

चालु आर्थिक वर्षमा विनियोजत बजेटको आधा रकम समेत खर्च नहुने निश्चित रहेको छ । आर्थिक वर्षको ११ महिनको अवधिमा सबैभन्दा धेरै चालु खर्च ७५ दशमलव २९ प्रतिशत अर्थात् आठ खर्ब दुई अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ । चालु शीर्षक अर्थात् तलब, भत्ता (सेवा सुविधा), भाडालगातका एक वर्षभन्दा कम टिकाउ हुने सामाग्रीमा गरिने खर्चको रुपमा बुझिन्छ ।

यता, चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वित्तीय व्यवस्थापनतर्फ भने ४३ दशमलव ५४ प्रतिशत अर्थात् ८२ अर्ब ४८ करोड २३ लाख रुपैयाँ खर्च भएको छ । यता राजस्व संकलन भने लक्ष्यअनुरुप भएको पाईन्छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नौ खर्ब ३९ अर्ब ६८ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

जसमध्ये कर राजस्व ८१ दशमलव ४९ प्रतिशत अर्थात् आठ खर्ब ७० अर्ब २४ करोड ३५ लाख रुपैयाँ र गैरकर राजस्व ६१ दशमलव ६५ प्रतिशत अर्थात् ६९ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वैदेशिक सहायतातर्फ २३ प्रतिशत अर्थात् १३ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ ।