काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले सरकार नेपाली सेनाको संख्यामात्रै बढाउनेभन्दा पनि क्षमता र गुणस्तर बढाउन तत्पर रहेको बताएका छन् । ‘सेनाको संख्यामात्रै बढाउने होइन, अब क्षमता र गुणस्तर विकास गराउने कुरामा ध्यान दिनुपर्ने अवस्था छ, यसकालागि सरकार प्रतिबद्ध छ । तपाईंहरूले देखाएको चासोप्रति खुसी व्यक्त गर्दछु,’ उनले भने ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९र०८० को बजेटमा रक्षा मन्त्रालयबारे उठेका सवालहरूबारे प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले संविधानले नै सेनाको भूमिका र जिम्मेवारीबारे प्रस्ट व्यवस्था गरेको बताए । हाम्रो संविधानमै नेपाली सेनाको भूमिकाबारे प्रस्ट व्यवस्था छ । माननीयज्यूहरूले कुरा उठाएजस्तो नेपाली सेनालाई समावेशी बनाउने, समावेशी प्रक्रियाबाट भर्ना गराउने काम सुरू भइसकेको छ,’ उनले भने ।
उनले सरकारले सेनालाई विकास निर्माणका काममा प्रयोग गर्ने गरिरहेको बताए । ‘तपाईहरूले प्रश्न गर्नुभयो, अहिले हामीले विकास निर्माणका काममा समेत सेनाको प्रयोग गर्दै आएका छौँ । यो संविधानले नै दिएको अधिकार हो,’ उनले भने, ‘कतिपय विकट पहाडी भूभागमा यति कडा चटानहरू छन् कि त्यहाँ विस्फोटक पदार्थ प्रयोग गर्ने क्रममा त्यसको भण्डारण गर्ने, प्रयोग गर्ने, पड्काउने जिम्मेवारी नेपाली सेनाले मात्रै गर्न सक्छ । त्यो व्यावसायिक कम्पनीलाई दिने कुरा पनि भएन । त्यो कामका लागि सेनालाई प्रयोग गरिएको हो ।’


प्रतिक्रिया