काठमाडौँ – नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइने दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि शुरु हुँदैछ ।
आज बिहान ११ बजेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
बिहीबार र शुक्रबार दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिइने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।
जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।
यसअघि असार २ गते काठमाडौँ पुग्नेगरी देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको थियो ।


प्रतिक्रिया